फेका कपमा गेटवे नयाँ च्याम्पियन



काठमाडौं ।

गेटवे एकेडेमीले १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ। गेटवे पहिलोपटक उपाधि जित्दै फेका कपको नयाँ च्याम्पियन बन्यो।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा गेटवेले पूर्व विजेता न्यु स्टार पोललाई १–० को झिनो गोलअन्तरले पराजित गर्‍यो। गेटवेका प्रतीक रायमाझीले निर्णायक गोल गरे । प्रतीक नै फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए।

मूलपानीमा तेश्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २–१ ले हरायो । अक्षरिकाका निशान थापा ‘म्यान अफ द म्याच’ चुनिए । शीर्ष स्थान हात पार्ने टिमले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

गेटवेका लक्ष्मण उप्रेतीले दोहोरो व्यक्तिगत उत्कृष्ट खेलाडीको उपाधि जिते । लक्ष्मण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसँगै सर्वाधिक गोलकर्ता पनि बने । प्रतियोगिताभर लक्ष्मणले ७ गोल गरे।

हाइली क्रिएटिभका रिसुक स्थापित उदीयमान खेलाडी घोषित भए। डिफेन्डरमा न्यु स्टारका दीप बोगटी, मिडफिल्डरमा अक्षरिकाका रविन मगर, गोलरक्षकमा न्यु स्टारका सोमित मण्डल र प्रशिक्षकमा गेटवेका सरिन नापित उत्कृष्ट चुनिए।

प्रतिक्रिया दिनुहोस्