भारतमा सुवासले उपाधि जिते



काठमाडौं ।

नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयू १२२औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि हात पारेका छन् ।

रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे। पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन्।

सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो अवसरसमेत हो। चौथो वरीयताका सुवास र तेस्रो वरीयता रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो।

पहिलो होल सुबासले जिते। तर, दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए। यसपछि १०औं होल सुवासले जिते र खेललाई बराबरीमा पु¥याए । १३औं होलमा सुवासले अग्रता बनाए। तर, १४औं होल फेरि रोहितले जिते।

खेल बराबरीमा पुग्यो। यसपछि १५ औं, १६ औं र १८औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिँदा ३–अपको अग्रता बनाए। नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होल मात्र गुमाए।

२०औं होलमा हार व्यहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पु¥याए । २४औं देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८–अपको अग्रता बनाउन सफल भए। २८औं होल बराबरी भएपछि सुवासले २९औं होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे।

सन् १८९२ मा सुरुआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् । शुरुको दुई दिन स्ट्रोक–प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनोट भएका हुन्।

स्ट्रोक–प्लेमा सुवास १–ओभर ७३ र २–अण्डर ७० खेल्दै चौंथो भएका थिए। म्याच–प्लेको सुरुआती तीन राउन्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमिफाइनलमा दक्षिण अफ्रिकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरुण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत छन्।

सुवासको यो ऐतिहासिक सफलतामा सहयोग गर्ने संस्थाहरू राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र तरुण सरदेशाई एकेडेमीलाई नेपाल गल्फ संघले धन्यवाद दिएको छ।

साथै, नेपाल गल्फ संघले डिसेम्बर २१ मा अर्का एमेच्योर खेलाडी राहुल विकलाई पनि प्रशिक्षणको लागि तरुण सरदेशाई एकेडेमीमा पठाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्