एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज चिवाभञ्ज्याङ पुगेर समापन हुने

0
Shares

पाँचथर ।

नेकपा एमालेकाे झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज सकिँदैछ। नेकपा एमालेले १९ दिन अघि मध्यपहाडी राजमार्गमा सुरु गरेको समृद्धि सङ्कल्प यात्राको आज अन्तिम दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन हुन लागेकाे हाे।

हिजो पाँचथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिममा नै बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झन्डा फहराउने  छन्।

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए। सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मङ्सिर १४ गतेबाट एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको थियो।

यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी,डडेलधुरा,डोटी,अछाम,दैलेख,जाजरकोट,पश्चिम रुकुम,पूर्वी रुकुमको यात्रा गरेको थियो। यसैगरी बागलुङ,पर्वत,कास्की,लमजुङ,धादिङ,नुवाकोट हुँदै काभ्रेपलान्चोक,सिन्धुपाल्चोक जिल्लाको यात्रा टोलीले भ्रमण गरेको थियो।

यसै गरी रामेछाप,सिन्धुली,ओखलढुंगा,खोटाङ,भोजपुर,धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँचथर पुगेको थियो। यात्राको क्रममा मध्यपहाडी राजमार्गले नछुने चार वटा जिल्लाहरूमा एमालेको टोली पुगेको छ।

जसमा गुल्मी,सुर्खेत,सल्यान र दोलखा रहेका छन्। यसरी मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चार वटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ।

यात्रा टोली भोली बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ। काठमाडौं फर्कँदा अधिकांश नेताहरू भद्रपुर विमानस्थल भएर काठमाडौं फर्कने तयारीमा छन्।