१४ किलो सुन तस्करी प्रकरण: मुख्य योजनाकार पत्ता लगाउन सधैं सकस



काठमाडौं ।

पछिल्लोपटक १४ किलो तस्करीको सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सो सुन तस्करीमा संलग्न सामान्य भरियाबाहेक अहिलेसम्म अन्य पक्षको कुनै सुइँको पाउन सकेको छैन।

यसपटक पनि सुन तस्करीको मुख्य योजनाकार पत्ता लगाउन सरकारी निकायलाई ठुलो सकस पर्ने देखिएको छ। विगतमा जस्तै यसपटक पनि भएको सुन तस्करीको पनि मुख्य योजनाकार सजिलै उम्कने अवस्था आउने स्रोतको दाबी छ।

गत २१ मंसिरमा फ्लाई दुबईको उडानमार्फत् सुन ल्याएका रसुवाका चन्द्र घलेलाई विमानस्थल कार्यालयले सुनसहित पक्राउ गरेको थियो। त्यसरी पक्राउ परेका घले सुन ल्याउने भरिया मात्रै रहेको र उनीभन्दा माथिको जालोका बारेमा भन्सारका अधिकृतहरू अझै अलमलमा रहेको बताइएको छ।

भन्सारका अधिकृतहरूले अनुसन्धानका क्रममा थप चार जनालाई पक्राउ गरेको भए पनि सुन तस्करीका मुख्य योजनाकारका बारेमा भने अनुसन्धान अधिकृतहरू अनविज्ञ देखिएका छन्।

यसअघि भएको सबैभन्दा ठुलो ६१ किलो सुन तस्करीमा पनि सरकारी निकाय तस्करीको मुख्य योजनाकार पत्ता लगाउन असफल भएको थियो। त्यति बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान दावा छिरिङभन्दा माथि पुग्न सकेको थिएन।

जबकि ६१ किलो सुन तस्करीमा दावा मध्यम खालका योजनाकार मात्रै रहेको र उनीभन्दा माथिसमेत ठुलो गिरोह रहेको दाबी सरकारी अधिकारीहरूले नै गर्दै आइरहेका छन्।

राजस्व अनुसन्धान विभाग आफैंले दावालाई पक्राउ गरी सीआईबीसमक्ष बुझाएको थियो तर सीआईबीको अनुसन्धान राजस्व अनुसन्धान विभागको अनुसन्धानभन्दा माथि पुग्न सकेको थिएन। सो प्रकरणमा दावाको सम्बन्ध उच्च राजनीतिक नेतृत्वसम्म रहेको देखिए पनि सीआईबीले राजनीतिक नेतृत्वलाई बचाएर अनुसन्धान सकेको थियो ।

अहिले पनि अवस्था उस्तै उस्तै देखिएको छ। भन्सार कार्यालयले प्राविधिक पक्षको विश्लेषणका लागि सीआईबीको सहयोग मागेको छ। भन्सार कार्यालयले भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन थालेको भए पनि समितिलाई पनि तस्करीका मुख्य योजनाकारसम्म पुग्न निकै कठिन हुने देखिएको छ ।

भन्सार कार्यालय स्रोतका अनुसार १४ किलो सुन तस्करी प्रकरणको मुख्य योजनाकारका बारेमा कुनै सूत्र पत्ता लाग्न सकेको छैन । उच्च स्रोतका अनुसार पछिल्लो समयमा हुने गरेका ठुलाठुला सुन तस्करी प्रकरणमा ७ –८ वटासम्मको तह देखिएको छ।

सबैभन्दा माथि रहने तस्करीका मुख्य योजनाकारले तल्लो तहमा विभिन्न समूह बनाएर त्यो समूहलाई नै परिचालन गर्ने गरेका छन्। तस्करीका मुख्य योजनाकारले विभिन्न तह बनाउने गरेको र त्यो तहसँग भित्री सम्बन्धविच्छेद गरी अप्रत्यक्ष सम्बन्ध राख्ने गरेको भन्सारका अनुसन्धान अधिकृतहरूको भनाइ छ।

‘सुन तस्करी संगठित अपराध भएकाले यसमा धेरै पक्ष र समूहको संलग्नता रहन्छ, त्यसैले यसका लागि उच्च तहको छानबिन र अनुसन्धान आवश्यक रहने भए पनि नेपालमा सो अनुसारको जनशक्ति र साधन स्रोतको अभाव छ।’ भन्सार कार्यालयका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने ।

ती अधिकृतका अनुसार छिमेकी देश भारतमा केही समय यस्तै खालका तस्करीका घट्ना बढेपछि भारतको राजस्व इन्टिलिजेन्स निर्देशनालाय (डीआरआई) ले विशेष अप्रेसन चलाएर तस्करीको जालोलाई क्षतविक्षत बनाएको थियो। हामीकहाँ पनि त्यस्तै खालको कडा अप्रेसन नगरी सुन तस्करीको जालोलाई ध्वस्त पार्न नसकिने जिकिर गर्दै भने– ‘त्यसो नगर्दासम्म कुनै न कुनै रूपमा तस्करी भइनै रहन्छ ।’

यसअघि पनि ठुलो परिमाणमा सुन यसरी नै नेपाल भित्रिएको र सो सुन भारततर्फ गएको सुराक फेला पारिसकेको बताइएको छ। राजस्व अनुसन्धान विभागमा रहेर कार्य गरिसकेका विभागका एक पूर्व महानिर्देशकले यो तस्करीमा दुबईमा रहेका तस्करहरूका साथै चीन, नेपाल र भारतका तस्करहरूको संलग्नता रहेको र उनीहरूलाई केही राजनीतिक दलका जिम्मेवार नेताको समेत संरक्षण रहेको दाबी गरे।

विमानस्थल भन्सार कार्यालय, भन्सार विभाग र अर्थ मन्त्रालयको समेत नेतृत्वमा बसिसकेका एक पूर्व सचिवले नियमित रूपमा हुने तस्करी सानोतिनो प्रयास र योजनामा हुनै नसक्ने दाबीसमेत गरेका छन्।

त्रिभुवन विमास्थल भन्सार कार्यालयका प्रमुख सहसचिव डा. टोकराज पाण्डेले पनि सुन तस्करी संगठित अपराध भएकाले यसमा धेरै पक्षको संलग्नता हुन सक्ने बताउनुभयो।

उहाँले सुन तस्करहरूले विभिन्न तहमार्फत् तस्करी गर्ने गरेको र तल्लो तहलाई फिल्डमा खटाउने र सम्बन्धसमेत अदृश्य राख्ने भएकाले भरियाहरू मात्रै फेला पर्ने गरेको बताउनुभयो।

‘संगठित जालोलाई परास्त गर्न र माथिल्ला योजनाकार पत्ता लगाउन सोही अनुसारकै वैज्ञानिक अनुसन्धान र साधनस्रोत सम्पन्न अनुसन्धान टिम आवश्यक पर्छ।’ पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्