गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  नियमित उडानको माग गर्दै  चार दिनदेखि धर्ना जारी

0
Shares

बुटवल। 

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै जारी आन्दोलनका कार्यक्रम अन्तर्गतको धर्नामा उद्योगी तथा व्यवसायीहरु संगठिन हुने क्रम बढ्दै गएको छ । यसैबीच रुपन्देही उद्योग संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आवश्यक परे उद्योगीहरुसहित सम्पूर्ण मजदुर, कर्मचारी तथा जनतालाई सडकमा उतार्ने चेतावनी दिएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्ने माग राख्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा दबाबमूलक आन्दोलन जारी रहेको छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत आइतबारदेखि विमानस्थल प्रवेशद्वार अगाडि धर्ना दिने कार्यक्रम जारी रहेको छ ।

बुधवार रुपन्देही उद्योग संघले समेत उपस्थिति जनाउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशको गौरव भएपनि नियमित सञ्चालन नहुनु दुःखद रहेको बताए । ‘एयरपोर्ट चलाउन पाइँदैन भनेर विरोध गरेका होइनौँ ऋण लिएर बनाएको एयरपोर्ट चलाउनुपर्छ भनेर कुरा उठाउनु परेको छ । अब सशक्त आन्दोलन गर्नुपर्छ ।’उनले भने ।

संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिहरुको कमजोरी र लाचारीपनका कारण विमानस्थल सञ्चालन हुन नसकेको दुखेसो पोखे ।

उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेतृत्व गरेको आन्दोलनमा सम्पूर्ण नागरिक सडकमा उत्रिनुपर्ने बताए । विमानस्थल निर्माण सुरु भएसँगै यस क्षेत्रमा ८०  अर्ब भन्दा बढी पर्यटन व्यवसायीले लगानी  गरिसकेका छन् ।