एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन : माओवादी प्रवक्ता सापकोटा



भक्तपुर ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न नहुने बताएका हुन्।

उनले भने, “एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ।” उहाँले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए।

प्रवक्ता सापकोटाले भने, “जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ।”

भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताए। नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताए।

उनले सत्ता गबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने बताए। सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताए।

प्रतिक्रिया दिनुहोस्