देश बिग्रनुमा नेताहरुको मात्र दोष छैन : अध्यक्ष तिमिल्सिना


काठमाडौं ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गरेका छन्। विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उनले आग्रह गरेका हुन्।

राष्ट्रिय बाल अधिकार परिषद्ले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच्न बनाउन आवश्यक रहेको बताए।

अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राखे। उनले भने “राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइदिएनन् भनेर झोला बेकेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ। युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ। त्यसका लागि म सहयोग गर्न तयार छु।”

उनले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताए। अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उनको भनाइ थियो।