विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

0
Shares

काठमाडौं ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा विप्लबसहित ४ जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ।

त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ९ असोज २०७६ मा दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ।