माउन्टेन बाईक प्रतियोगितामा फ्रान्सका केलियन ब्रोन विजयी

0
Shares

दोलखा।

दोलखाको प्रसिद्ध कालिञ्चोकदेखि नागदहसम्मको २६ किलोमिटर दूरीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय माउन्टेन बाईक डाउनहिल मास टयाट प्रतियोगिताकोमा फ्रान्सका साईकिलिष्ट केलियन ब्रोन विजयी भएका छन् ।

नेपाल पर्यटन वोर्ड, दोलखाको भीमेश्वर नगरपालिका र यति ओरिजिन्सको संयुक्त आयोजनामा बुधवार भएको प्रतियोगितामा ३८४१ मिटरको कालिञ्चोकबाट २६ किलोमिटरको दूरीमा रहेको ८६० मिटरको नागदहसम्म ५१ दशमलव ०६ मिनेटमा पार गरेर फ्रान्सका केलियन ब्रोन विजयी भएका हुन् । उनलाई नगद एक हजार पाँच सय अमेरिकी डलर समेत प्रदान गरिएको छ ।

प्रतियोगितामा नेपालका राजेश मगर ५३ दशमल ४१ मिनेटमा उक्त दुरी पार गरेर उपविजेता बनेका छन् । उनले एक हजार अमेरिकी डलर प्राप्त गरे । त्यसैगरी बेलायतका क्रिस्टोफर केलिग ५४ दशमलव २१ मिनेटमा दुरी पार गरेर  तेस्रो भएका छन् । उनले आठ सय अमेरिकी डलर प्राप्त गरेका छन् ।

प्रतियोगिताको खुला तर्फ नेपालका अरुण कार्की विजयी भएका छन् । उनले छ सय अमेरिकी डलर प्राप्त गरेका छन् । खुला तर्फका उपविजेता नेपालकै निकल थिङले पाँच सय ५० र तेस्रो नेपालकै दिनेश मर्हजनले तीन सय ५० अमेरिकी डलर प्राप्त गरेका छन् । त्यसैगरी जुनियर तर्फ नेपालकै अनीश तामाङ विजयी भएका छन् ।

प्रतियोगिताको एलिट विधामा नेपालसहित १७ देशका ९० साइकिलिष्टहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको विजयी साईकिलिष्टहरु लाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले पुरस्कार वितरण गर्नु भएको थियो ।