साना हतियार भित्रन सक्ने आशंकामा सबै नाकामा कडा चेकजाँच

0
Shares

–सुरक्षा निकाय भन्छ: शान्ति सुरक्षामा कमी हुन दिँदैनौं
–उपत्यकाको सुरक्षा योजना तय
काठमाडौं ।

देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ । भोलि मंसिर ७ गते एकै दिन काठमाडौंको तीनकुने र बल्खुमा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति नागरिक बचाउ महाअभियान घोषणाको आह्वान गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसार्इं र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ नेकपा एमालेका भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो ।

प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारीसाधनको विशेष चेकजाँच शुरू गरेको छ । विशेष गरी मोटरसाइकलबाट साना हतियार भित्रन सक्ने आशंका गर्दै प्रहरीले मोटरसाइकल र स्कुटरको डिकी खोलेर चेकजाँच शुरू गरेको छ भने सबै सवारीसाधनमा चेकजाँच शुरू गरेको छ ।

प्रहरीले सोमबार रातिदेखि सबै नाकामा सशस्त्र र नेपाल प्रहरीले चेकजाँच शुरू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले चेकजाँच मात्र नभई सबै सुरक्षा संयन्त्र परिचालन गरी उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत तुल्याइएको बताउनुभयो । प्रहरीले दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन आएको आशंका गर्दै भारतीय हिजो मंगलबार दिनभर भारतीय र नेपाली सवारीसाधनको चेकजाँच गरेको छ । स्रोतका अनुसार सिन्धुलीको चियाबारीस्थित मञ्जरी र त्यसआसपासका होटलमा भारतीय सवारीसाधनको संख्या बढी भएपछि चेकजाँच बढाएको थियो ।

प्रहरीले काठमाडौं प्रवेश गर्ने फर्पिङ, थानकोट, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीलगायत एक दर्जन क्षेत्रमा सबै सवारीसाधन रोकेर चेकजाँच गरेको छ । विशेष गरी साना सवारीसाधनबाट साना हतियार भित्रिएको आशंका उच्च सुरक्षा अधिकारीको छ । नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सबै प्रकारका सुरक्षा जाँच गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘शान्ति सुुरक्षाको अवस्था मजबुत छ, त्यसमा सुरक्षा उपलब्ध गराउन कुनै कसुर बाँकी राख्दैनौं ।’ उहाँले प्रहरीले आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठक, जिल्ला सुरक्षा समितिको बैठकले बिहीबारको प्रदर्शनमा हुन सक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था तयार गरिएको छ । प्रदर्शनको तयारी गरेका दुवै पक्षले शान्तिपूर्ण प्रदर्शन हुने जनाएका छन् । तर, सुरक्षा निकायले प्रदर्शनमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अघिल्लो र नेपाली सेना गरी तीनै तहको सुरक्षा निकाय परिचालन गर्ने तयारी गरेको छ । सूचना संकलन गर्न राष्ट्रिय अनुसन्धान विभागका प्रहरी परिचालन गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जिल्ला सुरक्षा समितिको योजना र स्थानीय प्रशासनको आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालन हुने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जिल्ला सुरक्षा समितिको बैठकमा नेपाली सेना सदस्य हुने भएकाले सोहीअनुसार समितिले निर्णय गर्न सक्नेछ ।’

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश मैनालीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘प्रदर्शनमा आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालित हुनेछन्, सुरक्षा व्यवस्थालाई मजबुत बनाउनेछांै ।’ भोलिको प्रदर्शनलाई ध्यानमा राखेर गृह मन्त्रालयमा पटकपटक बैठक बसेको थियो । स्रोतका अनुसार गृहमन्त्रीको अध्यक्षतामा विभिन्न समयमा बसेको बैठकले तयार गरेको गोप्य योजनाको आधारमा प्रहरी परिचालन गरिने छ ।

एकआपसमा विरोधी देखिएका नेकपा एमाले र प्रसार्इंको अभियानबीच हुन सक्ने आक्रमणलाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्था गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता भट्टराईले संविधान प्रदत्त अधिकार प्रयोग गरी प्रदर्शन गर्न खुला रहे पनि संविधान र कानुनको बर्खिलाफमा जाने जोकोहीलाई कारबाही गरिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– ‘तोकिएको स्थानमा प्रदर्शन गर्न कसैलाई रोक लगाउँदैनौं, प्रदर्शनको नाममा मुठभेडमा उत्रनेमाथि सरकारले कडा कारबाही गर्नेछ ।’

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र ब्युँताउने अभियान चलाइरहेका दुर्गा प्रसाईंलगायतको आह्वानमा ‘राष्ट्रियता र धर्म संस्कृति बचाउने अभियान’ ले प्रदर्शनका लागि उपत्यका बाहिरबाट सहभागी हुन आह्वान गरेको छ । सोहीअनुसार सोमबारबाटै कार्यकर्ता आउने क्रम जारी रहेको छ । युवा संघका अध्यक्ष क्षितिज थेवेले तीनकुनेमा आयोजना हुने भ्रष्टाचारविरोधी कार्यक्रममा सहभागी हुन उपत्यकाका ३ जिल्लाबाट २० हजार युवा, विद्यार्थी र शुभेच्छुक आउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘काठमाडौंबाट १०, ललितपुरबाट ६ र भक्तपुरबाट ४ गरी २० हजार जनाले विरोध प्रदर्शन गर्नेछन् । तीनै जिल्लाको युवा संघका नेताकार्यकर्ताहरू विभिन्न क्षेत्रबाट सहभागी हुन आउनेछन् । हामी सरकारले तोकेको स्थानबाट शान्तिपूर्ण प्रदर्शन गर्नेछौं ।’
अनेरास्ववियुका अध्यक्ष समिक बडालले यो आन्दोलनमा विद्यार्थी संगठनको समेत सहभागी हुने जानकारी दिनुभयो । अनेरास्ववियुबाट करिब ५ हजार विद्यार्थी सहभागी हुने कार्यक्रम रहेको छ । प्रसाईंले यसअघि आफूलाई युवा संघले कालोमोसो दलेको आरोप लगाउँदै आएका छन् । युवा संघले यसको खण्डन र आधिकारिक जिम्मेवारी दुवै लिएको छैन ।

महाअभियानअन्तर्गत प्रसाईंले ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट भेला गरेर बल्खुमा कोणसभा गर्ने तयारी छ । प्रसाईं समूहले अहिलेको व्यवस्थाप्रति नै घृणा फैलाउने खालको गतिविधि गर्न सक्ने गृहको विश्लेषण छ । प्रहरी स्रोतले पनि प्रसाईंको कार्यक्रममा राजावादी शक्तिको घुसपैठ हुन सक्ने आशंका गरेको छ । सुरक्षा निकायले सबै प्रकारको घटना विश्लेषण गरी सुरक्षा व्यवस्थालाई मजबुत गरेको छ ।

ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको भोलीपल्टै मंगलबार ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित संयुक्त राष्ट्रसंघीय कार्यालय र मन्त्री निवासकोे सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

निषेधाज्ञामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रमलाई निषेध गरिएको उल्लेख छ । ती क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेध क्षेत्र घोषणा गरिएको हो ।