सर्वोच्चको न्यायाधीशमा ६ जना सिफारिस

0
Shares

काठमाडौं ।

न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले ४ जना उच्च अदालतका न्यायाधीशसहित दुई जना कानुन व्यवसायीसहित ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

न्यायपरिषद स्रोतका अनुसार, कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् । रिक्त एक पदमा अझै सिफारिस भएको छैन ।

प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ । सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरु उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुँदै आएको थियो । सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त छन्। परिषद्ले ६ जना सिफारिस गर्दा एक पद अझै रिक्त रहेको छ।