जापानी दूतावासको उच्चस्तरीय टोली डडेल्धुरामा



डडेल्धुरा।

नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख तमुरा ताका हिरोसहितको टोली बिहीबार डडेल्धुरा पुगेको छ । उपनियोग प्रमुख ताकाहिरोसंगै जापानी दूतावासकी कार्यक्रम व्यवस्थापक मिकी उप्रेती डडेल्धुरा पुगेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रका लागि जापानी दूतावासले विभिन्न उपकरण उपलब्ध गराएकोमा ती उपकरण हस्तान्तरण समारोहमा सहभागी हुन दूतावासको टोली डडेल्धुरा पुगेको हो ।

रक्तसञ्चार केन्द्रमा चिकित्सकीय उपकरण जडान परियोजनामार्फत जापानी दूतावासले विभिन्न उपकरण हस्तान्तरण गरेको छ । उपकरण हस्तान्तरण समारोहमा बोल्दै प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख ताकाहिरोले रक्तसञ्चार केन्द्रमा चिकित्सकीय उपकरण जडान परियोजना सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गरे ।

 

परियोजनामार्फत उपलब्ध गराइएका उपकरण प्रयोग गरेर प्रभावकारी रुपमा बिरामीहरुलाई रगत ट्रान्सफ्युजन गर्न सकिने उनले  विश्वास व्यक्त गरे । नेपाल रेडक्रम सोसाईटी डडेल्धुरा शाखाका सभापति मदनराज चटौतको अध्यक्षतामा भएको कार्यक्रममा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अन्जनकुमार न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपसभापति सुरेन्द्रसिंह ऐरलगायतको सहभागिता थियो ।

जापानी दूतावासको टोली सदरमुकामस्थित महेन्द्र मावि खलंगामा आयोजित कार्यक्रममा पनि सहभागी भएको छ । टोलीले जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवनको अनुगमन गरेको हो । जापान सरकारको सहयोगमा जिल्लामा सञ्चालित अन्य विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन गरेर टोली बिहीबार नै डडेल्धुराबाट फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्