आहा दशैँको रौनक !



हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ । चारैतिर हिलोमैलो हराएको छ, सारा नेपालीमा सुखद अनुभूति छाउन थालेको छ । दुःख–कष्ट बिर्सने चाड पनि भएकाले होला, सबैतिर हर्ष र उमंगको वर्षा भएको छ । सुन्दर वातावरणसँगै कोही नीलो आकाशमा चंगा उडाइरहेका छन् । गाउँघरमा पिङ बनाउने र बनेका पिङहरुमा मच्चिने क्रम शुरु भइसकेको छ । घर–आँगनहरुमा दशैँका मधुर गुञ्जनहरु घन्किरहेका छन् । गाउँघर, शहरबजार र बस्तीहरु सरसफाइ गर्दै चिटिक्क पार्न थालिएको छ । मानौँ शहरबजारहरु दशैँको आगमनसँगै गुल्जार बनिरहेका छन् । विदेश गएकाहरु पनि दशैँ मनाउन घर फर्किन थालेका छन् । शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्कने क्रम शुरु भएको छ । घर–आँगन सफा बनाइएको छ, घरका भित्ताहरु रंगीन बनाउन थालिएको छ । के बालबालिका, के युवायुवती, के बूढाबूढी सबैलाई दशैँ पर्वले उमंगित बनाएको छ । सर्वत्र उल्लास नै उल्लास छाएको छ । त्यसैले त दशैँ आएको छ ।

असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैँ मनाउने गरिन्छ । यसलाई सद्भाव र एकताको चाडका रुपमा पनि लिने गरिन्छ । हरेक नेपालीलाई एकाकार गर्ने महान् चाड पनि हो दशैँ । त्यसैले यो चाडसँगै हामीमा रहेका कुत्सित सोचाइ र खराब प्रवृत्तिको अन्त्य गर्नुपर्छ । सत्यको प्रतीकको रुपमा रहेकाले यो चाड मनाउँदै गर्दा सत्यको बाटो अवलम्बन गर्ने बाचा गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक जुनसुकै कोणबाट पनि यो चाडको विशेष महत्व रहेको छ । वर्षदिनमा आफन्त, इष्टमित्र जम्मा भई मान्यजनबाट आशिष लिने विशिष्ट चाड हो दशैँ । यसले ठूलाबडा र मान्यजनप्रति सद्भाव राख्नुपर्छ भन्ने सिकाउँछ ।

माता दुर्गाको उपासना र पूजा–अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि शुरु हुने यो पर्व कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्रि पूजा गरिन्छ । यस अवधिमा मीठा–मीठा परिकारहरु पनि खाइन्छ । हुनेखाने मात्रै होइन, गरिबगुरुवाहरुले समेत दुःखजिलो गरेरै भए पनि सन्तोषका साथ दशैँ पर्व मनाउने गर्छन् । दशमी अर्थात् विजया दशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गापूजा गर्ने, मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने र आशिर्वाद लिने गरिन्छ ।

असत्यमाथि सत्यको जित भएको गाथा गाउँदै दशैँ मनाइरहँदा देशमा बढेको राजनीतिक विकृतिमाथि समेत सबैले प्रश्न गर्नुपर्ने भएको छ । विकृतिका विरुद्ध सकारात्मक सोचका साथ लड्ने प्रण सबैले गर्नुपर्ने भएको छ । यो दशैँसँगै नेता र दलहरु सच्चिन सकून् । मुलुकले सुशासन र समृद्धि हासिल गर्न सकोस् । सबै नेपालीहरुले सुख–शान्ति पाउन सकून् । देशमा समृद्धिका खाकाहरु कोरिन सकून्, सुशासन कायम हुन सकोस् । दशैँको रौनकसँगै सबैमा सच्चिएर अघि बढ्न र मुलुकको नवनिर्माण अभियानमा जुट्ने प्रेरणा मिलोस् । यही शुभकामना !

प्रतिक्रिया दिनुहोस्