आईओईको प्रवेश परीक्षा अनिश्चित



–डीनले मात्र निर्णय गरेर प्रवेश परीक्षा हुन नसक्ने
–करकापमा गरेको निर्णय अमान्य
–भर्ना समितिले गरेको निर्णय मात्र मान्य

 काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षा अनिश्चित भएको छ । संस्थानले यही असोज २२ गते प्रवेश परीक्षा गर्ने तयारी गरेको थियो । शुल्क विवाद समाधान नभईकन विद्यार्थी संघ संगठनको करकापमा पारेर डीन शशीधर राम जोशीको हस्ताक्षर गरी यही २२ गतेका लागि मिति तोकेको थियो ।

डीन प्राडा. जोशीले गरेको सहमतिको पत्र विवादमा परेको छ । परीक्षा सञ्चालन गर्नुअघि कार्यान्वयन समितिले भर्ना समितिलाई प्रवेश परीक्षासम्बन्धी सूचना जारी गर्न निर्देशन लिने प्रक्रिया छ । तर, सो प्रक्रियाविपरीत डीन प्राडा. जोशीले एक्लैले हस्ताक्षर गरी मिति तय गरेका कारण प्रवेश परीक्षा हुने हो वा होइन अनिश्चित छ । डीन प्राडा जोशीले प्रवेश परीक्षा कार्यान्वयन समिति, सहायक डीनसँग परामर्श नलिई स्ववियुसहित विद्यार्थी संघसंगठनका अधिकारीको दबाबमा प्रवेश परीक्षाको मिति तय गरेको अधिकांशको आरोप छ ।

‘मैले आरोप लगाए विद्यार्थीहरू जाइलाग्लान् भन्ने डर, आरोप नलगाऔं डीन साबले दबाबमा निर्णय गर्नुभएको छ’, एक उच्च अधिकारीले नेपाल समाचारत्रपत्रसँग भने– ‘परीक्षा हुँदैन भनौं पत्रले प्रवेश परीक्षा सञ्चालन गर्नु भन्ने निर्देशन भएको छ, हुन्छ भनांै वैधानिकता पाएको छैन ।’ उनका अनुसार यही अवस्थामा परीक्षा सञ्चालन गरे अधिकांश सहायक डीन र अन्य कर्मचारीले राजीनामा दिने अवस्था आउन सक्छ ।

डीन कार्यालयले प्रवेश परीक्षा लिए पनि नियम र विधिको आधारमा भर्ना लिन नसक्ने अवस्था छ । यो विषयमा डीन प्राडा जोशीसँग सम्पर्क गर्दा मोबाइल स्विच अफ गरेको थियो । आईओएममा भर्ना र प्रवेश परीक्षा सञ्चालन गर्न सुशीलबहादुर वज्राचार्य अध्यक्ष रहनुभएको ५ सदस्यीय समिति छ । उक्त समितिको निर्णयपछि मात्र प्रवेश परीक्षा लिनसक्ने व्यवस्था छ ।

दबाबमा आएर प्रवेश परीक्षा सञ्चालन गर्ने विषयमा हस्ताक्षर गर्नुभएका डीन प्राडा. जोशी सम्पर्कमा हुनुहुन्न । अघिल्लो वर्षकै शुल्कको आधारमा प्रवेश परीक्षा लिन तयारी नभएका क्याम्पसले शुल्क बढाउनुपर्ने माग यथावत् राखेका छन् । प्रवेश परीक्षा हुन नसक्दा करिब ४ हजार २ सय विद्यार्थीको भविष्य डामाडोल भएको छ ।
चालु वर्षमा ९ हजार ३ सय जनाले प्रवेश परीक्षा दिन फाराम भरेका छन् । हाल आईओईअन्तर्गत ६ सय २३ जनाले पूर्ण छात्रवृत्ति, १ हजार ४ सय १० जनाले सरकारी कोटामा शुल्क लिएर पढ्न पाउने र बाँकी सम्बन्धन र आंगिक क्याम्पसमा पढ्न पाउने व्यवस्था छ । यो वर्ष १ हजार २० कोटामा अध्ययन गर्न पाउनेछन् ।
दुई महिनादेखि प्रवेश परीक्षा हुन नसकेका कारण आईओईको साख गिर्दो क्रममा छ । प्रवेश परीक्षा हुन नसक्दा सबै कलेजमा भर्ना हुन सकेको छैन । विद्यार्थी संगठनले शुल्क वृद्धि गर्न नपाइने जनाएको छ भने पुल्चोकलगायत पाँचवटै क्याम्पसले शुल्क बढाउनैपर्ने अडान दोहो¥याएका छन् ।

शुल्क विवाद बढ्दै गएर पठनपाठन ठप्प भएपछि डीन कार्यालय र विद्यार्थी संगठनबीच सहमति भएको थियो । असोज १५ गते पुरानै शुल्कमा पढाइ गर्ने सहमति भएको थियो । इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले साउन २५ गतेको निर्णयअनुसार शुल्क वृद्धि गरेको विषयमा असोज ४ गते सूचना प्रकाशित भएको थियो।

यसैबीच पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ विभागीय प्रमुखहरूले ‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खरै निर्वाचित स्ववियुले लिने’ भन्ने स्ववियु सभापतिहरूको अभिव्यक्तिप्रति कृतज्ञता जाहेर गर्दै विज्ञप्तिमार्फत् विभाग चलाउन मार्ग प्रशस्त गरी जिम्मेवारी सुम्पिएको जनाएका छन् । जिम्मेवारी सुम्पनेमा प्राडा. हेमराज पन्त अप्लाइड साइन्स तथा केमिकल, प्राडा. गोकर्ण मोत्रा, सह–प्रा. डा. सञ्जय उप्रेती, सह–प्रा. डा. ज्योति तण्डुकार, उप–प्रा. युवराज अधिकारी र उप–प्रा. डा. सुदीप भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्