सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन नभएको भन्दै संसद अवरोध गर्ने  एमालेको संकेत 



काठमाडौँ । 

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि पछि नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ ।

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोली बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अवरोध गर्ने संकेत गरेका छन् ।

 ‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भोलीको सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षीमाथि  मिथ्या भ्रम छर्न दिउँसै रात पार्ने प्रपंच चलिरह्यो।’

 ‘असोज ५ पछि  धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो,’ उनले सामाजिक सञ्जालबाट भनेका छन, ‘सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’

प्रतिक्रिया दिनुहोस्