प्रचण्डविरुद्धको अवहेलना मुद्दामा मंसिर २८ गते निर्णय सुनाइने



काठमाडौँ।

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दाको निर्णय आगामी मंसिर २८ गते सुनाउने भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले आइतबार यस मुद्दाको निर्णय सुनाउने मिति तोकेको हो । आइतबार दुवैतर्फको बहस सकिएसँगै सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो ।

यस मुद्दामा दोषी ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिनसक्नेछ । आरोप पुष्टि नभए निवेदन स्वतः खारेज हुनेछ ।

२०७३ वैशाखमा प्रचण्डले राष्ट्रिय सभागृहमा आयोजित माओवादी कार्यकर्ताको भेलामा अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्