लागूपदार्थ नियन्त्रणमा सक्रिय होऊ



धूमपान, मद्यपान र अन्य लागूपदार्थ मानव जीवनका लागि हानिकारक हुन्छ तर यसको प्रयोग हरेक दिन बढ्दो अवस्थामा रहेको छ । समाज आधुनिकतामा गएसँगै यी चिजको प्रयोग बढ्दो अवस्थामा रहनु चिन्ताको विषय बनेको छ । धूमपान, मद्यपान र अन्य लागूपदार्थको प्रयोगमा कमी ल्याउन सरकारले जति काम गर्नुपर्ने हो त्यो गरेको पाइँदैन । सरकारी निकायले यसलाई झारा टार्ने काम गरेको पाइन्छ भने युवायुवतीले यसको प्रयोगलाई फेसन बनाएका छन् । समाज जति खुल्ला हुँदै गयो त्यति नै यस्ता प्रकारका लागूपदार्थको प्रयोग बढ्दो अवस्थामा रहेको देखिन्छ । समाज विकाससँगै बढ्दै गएको आन्तरिक कलहका कारण पनि यसका प्रयोगकर्ताहरु हरेक दिन बढ्दै गएको देखिन्छ । साथीभाइको संगतसँगै यस्ता कुलतमा फस्ने युवायुवतीको संख्या डरलाग्दो अवस्थामा पुगेको छ ।

यसको नियन्त्रणका लागि राज्यले जुन किसिमले जनचेतनाका साथै कारबाहीको दायरालाई फराकिलो बनाउनुपर्ने हो त्यो गरेको देखिँदैन । लागूपदार्थको प्रयोगलाई नियन्त्रण गर्ने कानुन राज्यसँग भए पनि त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा यसका प्रयोगकर्ताहरु बढ्दै गएको सरकारी तथ्याङ्कले नै देखाएको छ । यस्ता गतिविधिको नियन्त्रण गर्ने अभिभारा बोकेको गृह मन्त्रालय र यसका निकायहरु अहिले निष्क्रिय रहेका हुन् कि भन्ने आशंका पैदा भएको छ ।

नेपालमा धूमपान, मद्यपान र लागूपदार्थ सहजरुपमा उपलब्ध हुने भएकाले पनि यसको प्रयोग बढ्दो अवस्थामा देखिन्छ । अहिलेको जस्तै आगामी पिँढीले पनि यसको प्रयोगलाई निरन्तरता दिए भने नेपालको हरेक क्षेत्रमा यसले गम्भीर असर पर्ने देखिन्छ । यसले नेपालको कुल गार्हथ्य उत्पादनमा समेत असर नपार्ला भन्न सकिँदैन । त्यसैले यसको वेप्रवाह प्रयोगमा राज्यले समयमा नै नियन्त्रणका प्रयासहरु नगर्ने हो भने यसले पार्ने भयानक अवस्थालाई कसैले नजरअन्दाज गर्न मिल्दैन । त्यसैले यस्ता कुलतको प्रयोगलाई समयमा नै नियन्त्रण गर्ने प्रयासलाई सार्थकरुपमा अघि बढाउनुपर्दछ ।

अहिले बजारभर खुल्लारुपमा रहेका यस्ता कुराको बिक्री वितरणलाई नियमन गर्ने कामलाई ढिला गर्नुहुँदैन । जसका कारण समाज नै कुरुप बनाउँदै लगेको अहिलेको अवस्थामा यसको प्रयोगलाई खुम्च्याउँदै लैजानुपर्ने देखिन्छ । जथाभावी प्रयोगमा आएको सुर्तीजन्य पदार्थको प्रयोगले मानसिकरुपमा युवायुवतीलाई आक्रान्त बनाउँदै लगेको छ । सुर्तीजन्य पदार्थको प्रयोगपछि जथाभावीरुपमा फ्याँक्ने खोलहरुले समाजको वातावरणलाई समेत दूषित बनाएको छ । त्यसको प्रयोगबाट हुने हानिलाई नियन्त्रण गर्न स्थानीय प्रशासनका साथै सरोकारवाला निकायहरु पनि सक्रिय हुनुपर्ने देखिन्छ । जबसम्म नियामक निकायले आफ्नो सक्रियता देखाउँदैन तबसम्म यसले सार्थकता पाउन सक्दैन । त्यसैले सबै एकजुट भएर अघि बढ्न सके मात्रै यसलाई नियमन गर्न सकिन्छ । सबैको ध्यान यतातर्फ जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्