महामारीको रुपमा डेंगु संक्रमण



देशको ७४ जिल्लामा फैलिएको डेंगुले सबैभन्दा बढी सुनसरीको धरानमा प्रभाव पारेको छ । डेंगु संक्रमणले धरानमा मात्र ११ जनाको मृत्यु हुनु दुःखद समाचार हो । संक्रमितको संख्या बढेसँगै धरानका अस्पताल, स्वास्थ्य चौकी, उद्योग वाणिज्य महासंघलगायतका स्थान तथा भवनहरु बिरामीले भरिभराउ भएका छन् । परीक्षण गरेकामध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण देखिएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका रहेका छन् । सरकारले सुरक्षा अपनाउन र सरसफाइका लागि आम नागरिकलाई गरेको आह्वान समय सान्दर्भिक छ । सरसफाइ कहाँ, कहिले र कसरी गर्ने अनि साथ–सहयोग कसरी पु¥याउने भन्ने बारेमा पनि सरकारले पहिला ध्यान दिनु जरुरी छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार श्रावण २८ गतेसम्म त्यहाँ बिरामीको संख्या १० हजार २ सय १८ पुगेको छ । डेंगु संक्रमणले उच्च रुप लिएकै कारण धरानमा घर–घरमा डेंगु संक्रमितको संख्या बढ्दो क्रममा छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी नअटाएपछि संक्रमितको उपचारका लागि वडा कार्यालयदेखि सभागृहसमेत भरिएको छ । यस्तो अवस्थामा सरकारले समयमै नागरिकलाई सचेत गराउन र डेंगुयुक्त लामखुट्टेको खोज अभियानमा सरकार चुकेको छ । यतातर्फ सरकारको ध्यान पुगोस् ।

यता डेंगु बढेसँगै स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाको माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको छ । यो विषयमा समयमै ध्यान दिई जनस्वास्थ्य संकटकाल घोषणा गर्नेतर्फ सरकारको ध्यान केन्द्रित होस् । सुनसरीमा व्यापकरुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रणका लागि स्थानीय जिल्ला प्रशासन, स्वास्थ्य संस्थालगायतका निकायको आग्रहलाई सरकारले कहिले गम्भीर भएर सोच्ने ? देशमा हरेक दिन वृद्धि हुँदै गएको डेंगु महामारीले स्वास्थ्य समस्याका साथै धनजनको क्षति पु¥याएको छ । आम नागरिकले स्वास्थ्य सेवा नपाएर मृत्युवरण गर्नुपर्ने छैन भनी स्वास्थ्यमन्त्रीले सार्वजनिकरुपमा दिनुभएको अभिव्यक्ति साकार पार्न के–कस्ता कार्यक्रमहरु तय भए भन्ने सार्वजनिक गर्दै सरकारले यसको कार्यान्वयनतर्फ ध्यान देओस् । सरकारका स्वास्थ्यमन्त्रीले भाषण थोर परिणाममुखी काम धेर गरेर डेंगु संक्रमणका कारण छट्पटाइरहेका नागरिकलाई मलहम पट्टी बाँध्ने उपाय दिन सक्नु बुद्धिमानी हुनेछ ।

सुनसरीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले संघ र प्रदेशलाई ‘जनस्वास्थ्यको आपत्कालीन अवस्था घोषणाका लागि सिफारिस गरेको विषय सबै तह र तप्काबाट गम्भीररुपमा लिएर कार्यान्वयन गरियोस् । त्यसअघि स्वास्थ्य कार्यालयले जनस्वास्थ्यको आपत्कालीन अवस्था घोषणाका लागि विपद् व्यवस्थापन समितिलाई पत्र पठाएको विषयमा समेत गम्भीरता देखाइयोस् । जिल्ला तहदेखि प्रदेश र केन्द्रलाई गरिएको अनुरोध फाइलमा थन्क्याउने मात्र नगरियोस् । केन्द्र सरकार तथा स्वास्थ्य मन्त्रालयले प्रदेश र जिल्लालाई आवश्यकता अनुसार सहज एवं सुलभरुपमा सहयोग पु¥याउन अनि नागरिकको घरदैलो अभियानलाई तीव्रता दिन नयाँ योजनाको खाँचो यति बेला टड्कारोरुपमा देखा परेको छ । नागरिकको स्वास्थ्य समस्या भनेको देशकै प्रमुख समस्याको रुपमा लिएर समाधानका लागि मुलुकको नेतृत्व खरोरुपमा उत्रियोस् । सरकार नागरिकको स्वास्थ्यप्रति जवाफदेही बनोस् र नागरिकको सारथी बन्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्