निरन्तर सफल हाप्किडोका खेलाडी दीपक



काठमाडौं । एक कुशल खेलाडी, अब्बल प्रशिक्षक अनि समग्रमा असल व्यक्तित्व दीपक छन्त्याल नेपाली खेलकुदमा एक परिचित नाम हो । यी तीन फरक भुमिकामा दीपकले बनाएको आफ्नो परिचय साच्चिकै लोभ लाग्दो छ, प्रशंसायोग्य छ ।

लामो समयको संगतमा पक्तीकारले दीपकको सफलता र व्यक्तित्वलाई नजिकबाट बुझ्ने अवसर पाएको छ । दीपकले हाप्किडो खेलमा खेलाडी र प्रशिक्षकको रुपमा प्राप्त गरेको सफलता अविश्वसनीय छ । हाप्किडो धेरैका लागि नयाँ खेल लाग्न सक्छ ।

यद्यपि, मार्शल आट्र्स विधाको हाप्किडो नेपाली खेलकुदमा निक्कै छिटो आफ्नो आधार तयार पार्दै ठूला अन्तर्राष्ट्रिय सफलता हात पारिसकेको खेल हो ।

सबै जना अचम्वित पर्नसक्ला, हाप्किडो सातै प्रदेशको गरी ६० जिल्लामा सघ गठन भइसकेको खेल हो, जसअन्तर्गत ७५ हजारको हाराहारीमा युवाहरु यस खेलको नियमित प्रशिक्षणमा संलग्न रहेको डाटा संघसँग छ । हाप्किडोको विभिन्न ठाउँमा आफ्नै प्रशासनिक एवं प्रशिक्षण भवन बनिसकेको छ । हाप्किडोको यो विस्तार दशकौं अधि स्थापना भएको अन्य खेल संघहरुको तुलनामा निक्कै ठूलो उपलब्धी हो ।

आत्मा रक्षासम्बन्धि कौशल सिकाउने यस खेलले विशेष गरी महिला र समग्रमा सबैलाई सशक्तिकरणको काम गरेको छ । संघले यस ललाई अनुसासन, जिविकोपार्जन र उद्यमसिलतासँग पनि जोडेको छ । यस खेलका झण्डै ११ सय प्रशिक्षकमध्ये ९ सय त जागिरे छन् । खेलकै कारण उनीहरु जागिरे पनि बनेका छन् ।

दीपक यस्तै मध्येका एक प्रशिक्षक हुन्, जसले हाप्किडो खेलमार्फत अभुतपूर्व सफलता त हात पारेकै छन्, हाप्किडो खेलको विकास र विस्तारमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याएका छन् ।

नेपाली खेलकुदमा दीपक यस्ता सफल खेलाडी रहे, जसले आफ्नो खेल जीवनमा असफलता सायदै महसुस् गरे । आफू सहभागी भएको प्रतियोगिताबाट दीपकले स्वर्ण पदक नै जितेका छन्, चाहे त्यो राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय प्रतियोगिता ।

उनले अहिलेसम्म प्रतिस्पर्धा गरेकामध्ये कुनै पनि त्यस्तो प्रतियोगिता रहेन, जहाँ उनले स्वर्ण पदक नजितेको होस् । रोल्पामा भएको प्रथम हाप्किडो च्याम्पियनसिप, रुसको मस्कोमा भएको ओपन च्याम्पियनसिप, भारतको नयाँ दिल्लीमा भएको दोस्रो दक्षिण एसियाली हाप्किडो च्याम्पियनसिपमा दीपकले देशलाई स्वर्ण दिलाए ।

देशले गर्व गर्ने उपलब्धी हात पारेका यी सफल खेलाडी आफ्नो उपलब्धीमा खुसी छन् । ‘मलाई अवसर दिने संघ प्रति कृतज्ञ छु । पाएको अवसरमा देशलाई पदक दिलाउन सकेको छुँ, ‘मेरा लागि यो नै ठूलो उपलब्धी हो । खुसीको पनि कुरा हो ।’

दीपकको यो सफलता पछाडि उनको मेहनत र खेलप्रतिको लगाव महत्वपूर्ण छ । सानै उमेरदेखि नै खेलकुदमा रुचि राखेका दीपकलेनिक्कै मेहनत गरे । आफ्नो रुची र रोजाईमा मेहनत गर्न सकियो भने अभुतपूर्व सफलता नै सम्भव छ भन्ने उदाहरण बनेका छन् दीपक ।

अनुभवले खारिएका तमानखोला गाउँपालिका २९ साविकको बोङ्गादोभान गाबिस ६० बाग्लुङका यी ४२ वर्षिय दीपक अहिले आफ्नो खेल जीवनको दोस्रो अध्यायमा छन्, प्रशिक्षकको रुपमा । प्रशिक्षकको रुपमा पनि दीपकको सफलता यात्रा सुरु भएको छ ।

उनले प्रशिक्षण दिलाएका खेलाडीले देशभित्र पदक जित्न सुरु गरेका छन् ।

उनले सिकाएका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि पदक जित्न अव धेरै टाढा छैन । दीपक भन्छन्, ‘खेलाडी र प्रशिक्षकको रुपमा देशलाई पदक दिलाउँन सक्नु कुनै पनि खेलकर्मीको सपना हुने गर्दछ । खेलाडीको रुपमा त्यो सपना पूरा गरिसकेको छु । अब प्रशिक्षकको रुपमा पनि देशलाई पदक दिलाएरै छाड्ने छु ।’

यो अभियानमा दीपकका लागि खेलाडीको रुपमा उनले हासिल गरेको अनुभव र प्रशिक्षकको रुपमा विभिन्न सेमिनारमा सहभागी हुँदा प्राप्त ज्ञान साच्चिकै महत्वपूर्ण हुने छन् । दीपकले उज्बेकिस्तानमा भएको इन्टरनेशनल मास्टर्स सेमिनार, क्रोएसियामा भएको इन्टरनेशनल मास्टर्स सेमिनार, रुसमा भएको इन्टरनेशनल मास्टर्स सेमिनार र पोखरामै भएका इन्टरनेशनल मास्टर्स सेमिनारमा सहभागीता जनाएका थिए । ती सेमिनारबाट उनले खेल र प्रशिक्षणबारे महत्वपूर्ण ज्ञान हासिल गरेका छन् ।

दीपकले पाएको स्वर्ण पदक :

– प्रथम हाप्किडो च्याम्पियनसिप, रोल्पा
– मस्को ओपन च्याम्पियनसिप, रुस,
– इन्टरनेशनल हाप्किडो च्याम्पियनसिप, नेपाल
– छैटौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप, नुवाकोट
– दोस्रो दक्षिण एशियाली हाप्किडो च्याम्पियनसिप, नयाँ दिल्ली,

प्रतिक्रिया दिनुहोस्