प्रधानमन्त्रीका ज्वाइँले मन्त्री पदमा दाबी गरेपछि माओवादी केन्द्रमा विवाद, मुख्यमन्त्रीको शपथ अनिश्चित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँले मन्त्री पदमा दाबी गरेपछि विवाद उत्पन्न भएको छ ।

प्रचण्डका ज्वाँइ जीवन आचार्यले कोशी प्रदेश सरकारमा माओवादी केन्द्रको कोटाबाट आफूलाई मन्त्री बनाउनैपर्ने अडान राखेपछि विवाद उत्पन्न भएको हो ।

सभामुख बाबुराम गौतमले हिजो (मंगलबार) पदबाट राजीनमा दिएपछि उनलाई मन्त्री पदमा सिफारिस गर्न माओवादी केन्द्रले आन्तरिक गृहकार्य थालेको थियो । त्यतिनै बेला आचार्यले आफू मन्त्री बन्नैपर्ने अडान नछोडेपछि पार्टीमा विवाद उत्पन्न भएको स्रोत बताउँछ ।

उनले अहिले पनि पार्टीका शीर्ष नेतृत्व तहमा बाबुराम गौतमलाई रोकेर आफैं मन्त्री बन्नुपर्ने अडान राख्दै आएका छन् ।
माओवादी केन्द्रको आन्तरिक विवादका कारण नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम थियो ।

तर, शपथ ग्रहण माओवादीका कारण बेलुका ५ बजे सारिएको भए पनि निश्चित नभएको स्रोत बताउँछ । स्रोतका अनुसार माओवादीको आन्तरिक विवाद समाधान नभएसम्म शपथ तोकिएको समयमा नहुन सक्छ ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री थापासँगको सहमतिमा नै बुधबार बिहान १० बजे मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम तोकेको थियो । तर, शपथग्रहणमा प्रदेश प्रमुखको कार्यालयले आमन्त्रण गरेका अतिथिहरू आइसकेका बेला स्थगितको सूचना आएपछि उनीहरू फर्र्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्