सेवा आयोगको विश्वसनीयतामाथि प्रश्न

नेसंविमा नेविसंघको ताला

0
Shares

दाङ ।
नेपाल संस्कृत विश्व विद्यालयअन्तर्गतको सेवा आयोगले कर्मचारी तथा प्राध्यापक नियुक्तिका लागि लिन थालेको परीक्षाको निष्पक्षतामाथि प्रश्न उठेको छ । नियतवश आयोगका पदाधिकारी तथा सदस्यले ‘आफ्नालाई’ पास गराउने गरी नियोजितरूपमा षड्यन्त्र गरेको नेपाल विद्यार्थी संघ दाङले आरोप लगाएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयले कर्मचारी तथा प्राध्यापकहरू नियुक्तिका लागि आवेदन माग गरेको थियो । कर्मचारी नियुक्तिका लागि १० असारमा र उपप्राध्यापक नियुक्तिका लागि २१ असारमा परीक्षा तोकिएको थियो । सोहीअनुसार उसले आवेदन माग गरेको हो । ‘तर, आयोगले लिन थालेको परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठ्यो । यसबारे विश्वविद्यालयका पदाधिकारीसँग कुरा गर्दा वास्ता नगरेपछि बाध्य भएर हामीले असार ९ गते ताला लगाएका हौं ।’ –नेविसंघ दाङका जिल्ला अध्यक्ष कुलराज पोख्रेल भन्छन् ।

असार ९ मा तालाबन्दी भएपछि १० गते हुने भनिएको कर्मचारी नियुक्तिको परीक्षा रोकिएको थियो । यससँगै, असार २१ का लागि तोकिएको प्राध्यापकको परीक्षा समेत रोकिएको छ । सेवा आयोगले ३ जना प्राध्यापक, २ जना सहप्राध्यापक, ४९ जना उपप्राध्यापक तथा २९ जना कर्मचारी नियुक्तिका लागि आवेदन खोलेको थियो । प्रश्नपत्र निर्माणकर्ता विषय विशेषज्ञहरुको नाम नै परीक्षा अगावै सार्वजनिक भएको उनको कथन छ । परीक्षाअगावै कुनै पनि प्रश्नपत्र निर्माणकर्ताको नाम सार्वजनिक हुनुहुँदैन । ‘प्रश्नपत्र बनाउने एक्सपर्टकै नाम सार्वजनिक भएपछि कसरी परीक्षा निष्पक्ष हुन्छ ?’, अध्यक्ष पोख्रेलको प्रश्न छ ।
नाम उल्लेख नगर्ने सर्तमा स्रोत भन्छ– ‘प्रश्नपत्र निर्माणकर्ताहरुले आफू निकटस्थ परीक्षार्थीहरुलाई आफूहरुले प्रश्नपत्र निर्माण गर्न थालेको जानकारी दिएका थिए ।’ ‘आफ्ना निकटस्थहरुलाई सहज तरिकाले पास गराउने नियतले प्रश्न निर्माणकर्ताहरुले नै आफूहरुले प्रश्नपत्र निर्माण गर्न थालेको भनेर पहिल्यै जानकारी गराएपछि यो कुरा बाहिर आएको हो’, अध्यक्ष पोख्रेलले भने– ‘आफ्नाहरुलाई मात्रै पास गराउने नियतले प्रश्नहरुकै बारेमा जानकारी दिएपछि कसरी परीक्षा मर्यादित र निष्पक्ष हुन्छ ?’

नेसंविको सेवा आयोगमा अध्यक्षसहित एक सदस्य र लोकसेवा आयोगका प्रतिनिधि पदेन सदस्यका रूपमा रहने व्यवस्था छ । परीक्षाको प्रश्नपत्रको ड्राफ्ट निर्माणका लागि आयोगले विषय विशेषज्ञहरुलाई तोक्छ । कुनै एक विषयको प्रश्नपत्र निर्माणमा लागि तीन/चार जना विशेषज्ञ तोकिएका हुन्छन् । ती विशेषज्ञबाट प्रश्नपत्रको ड्राफ्ट लोकसेवा आयोगमा पुग्छ । लोकसेवा आयोगले ती ड्राफ्ट प्रश्नहरुबाट छनोट गरेर लोकसेवाले प्रश्नपत्रलाई अन्तिमरुप दिन्छ । तर, प्रश्नपत्र ड्राफ्ट गर्नेहरुबाटै प्रश्नहरु चुहिएको भन्दै गरिएको आन्दोलनका कारण परीक्षा नै रोकिन पुग्यो ।

‘प्रश्न पत्रहरुको ड्राफ्टका लागि तोकिएका सबै विशेषज्ञले यो–यो प्रश्न समावेश गरिएको छ भनेर सम्भावित सबै प्रश्न आफ्नालाई सुनाइदिएपछि परीक्षा मर्यादित कसरी हुन्छ ?’, नेविसंघका नेता केशव न्यौपाने प्रतिप्रश्न गर्छन्– ‘अहिले भएको त्यही हो, अन्यथा हामीले प्रश्न बनाउँदै छौं भनेर प्रश्न बनाउनेहरुले आफ्ना निकटस्थहरुलाई पहिले नै भन्दै हिँड्नुको कारण के हो त ?’

त्यसो त, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले पनि प्रश्नपत्र निर्माणका क्रममा त्रुटि भएको स्वीकार गरेको छ । आयोगका सदस्य मुरलीमनोहर बास्कोटाले काँचो प्रश्न निर्माण गर्नेहरुको नाम पहिले नै सार्वजनिक भयो भन्ने कुरा आएको स्वीकार गरेका छन् । तर, यसमा आफूहरुको कुनै संलग्नता नरहेको उनको भनाइ छ । ‘हामीहरुले काँचो प्रश्न निर्माणका लागि रोस्टरमा रहेका विषय विशेषज्ञहरुलाई जिम्मा दिने हो, हामीले त्यसै ग¥यौं’, आयोगका सदस्य बास्कोटाले भने– ‘तर, पछि प्रश्न निर्माणकर्ताहरुले नै आफूहरुले प्रश्न निर्माण गर्न थालेको भनेर बाहिर सार्वजनिक गरेको भन्ने कुरा सुन्नमा आयो ।’

आफूहरुले प्रश्नको ड्राफ्टका लागि अनुमति दिएको तर बाहिर सार्वजनिक कसरी भयो भन्ने कुराको जानकारी नरहेको उनले बताएका छन् । ‘प्रश्न निर्माणकर्ताहरुको नाम बाहिर सार्वजनिक भएको भन्ने कुरा सुनियो तर यसको यकिन प्रमाण त छैन’, बास्कोटा भन्छन्– ‘तर, नाम बाहिर आएकै हो भने उहाँहरुको नाम सम्बन्धित व्यक्ति आफंैले सार्वजनिक गर्नुभयो वा कसरी भयो ? यदि प्रश्न निर्माणकर्ताहरुले नै आफूहरुको नाम सार्वजनिक गर्नुभएको हो भने उहाँहरुलाई कालोसूचीमा राखेर कारबाही गर्छौं ।’

परीक्षाअगावै प्रश्नपत्र चुहावट गर्ने नियतका साथ परीक्षा गर्न थालिएको भन्दै सेवा आयोगको कार्यालयमा ताला लागेपछि सेवा आयोगले वार्ता समिति पनि निर्माण गरेको छ । सुरज लामाको नेतृत्वमा बनेको वार्ता समितिले आन्दोलनरत पक्षसँग वार्ताको पहल गरिरहेको छ । प्रश्नपत्र निर्माताहरुको नाम सार्वजनिक भएको आशंका यो समितिले पनि गरेको छ । फलतः उसले प्रश्नपत्र सार्वजनिक भएको आशंका रहेका विषयहरुको प्रश्नपत्रको निर्माण पुनः गर्न सकिने लामा बताउँछन् ।

‘प्रश्नपत्र निर्माताहरुको नाम बाहिर आएको भन्दै परीक्षाको निष्पक्षतामाथि आन्दोलनरत पक्षले प्रश्न उठाएको छ’, उनी भन्छन्– ‘जुन जुन विषयको प्रश्नपत्रमाथि आशंका भएको हो, सो विषयका प्रश्नपत्र पुनः निर्माण गरेर परीक्षा सञ्चालन गर्न सकिन्छ ।’ त्यसका लागि प्रश्न पत्र निर्माणको पूरै जिम्मेवारी लोकसेवा आयोगलाई नै दिन सकिनेसमेत लामा बताउँछन् ।

सेवा आयोगले पनि प्रश्नपत्र निर्माणका क्रममा त्रुटि भएको भए पुनः प्रश्न पत्र निर्माण गर्न सकिने बताएको छ । ‘यदि प्रश्नपत्र निर्माणमा शंका रहेको भए पुनः प्रश्न पत्र निर्माण गरेर परीक्षा सञ्चालन गर्न सकिन्छ ।’ –आयोगका सदस्य बास्कोटाले भनेका छन् । आयोगकै सदस्यले पुनः प्रश्नपत्र निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुले पनि प्रश्न पत्र निर्माणमा त्रुटि भएको आशंकालाई स्वाभाविकै रूपमा बल पुगेको छ ।

आयोगका सदस्यले प्रश्न निर्माताहरुसँग कुनै निकटस्थता नरहेको बताए पनि नेविसंघ भने यसमा सबैको मिलेमतो रहेको दाबी गर्छ । ‘आफ्ना आफन्त तथा निकटस्थहरुलाई जसरी पनि पास गराउने नियत सबैको जोडिएका कारण यो कुरा बाहिर आएको हो’, अध्यक्ष पोख्रेलले भने– ‘जसले आफ्नालाई प्रश्नपत्र सार्वजनिक गरिदिन्छ, उसैलाई नै प्रश्नपत्र निर्माण गर्न दिइएको छ, अनि त उनीहरूको नाम परीक्षाअगावै बाहिर आयो नि ।’
नेविसंघले परीक्षाको निष्पक्षतामाथि प्रश्न उठाउँदै लोकसेवा आयोगलाई परीक्षा रोक्न लिखितरूपमा अनुरोध गरेपछि आयोगले परीक्षा लिन नसक्ने भन्दै सेवा आयोगलाई जानकारी गराएपछि परीक्षा रोकिएको थियो ।