सार्वजनिक सवारीको भाडा घट्यो



काठमाडौं । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएपछि मन्त्रालयले भाडाको मूल्य समायोजन गरेको हो ।

नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपियाँले घटेको छ । नयाँ भाडादर अनुसार सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपियाँ भाडा तोकिएको छ ।

त्यस्तै उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपियाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपियाँ तोकिएको छ । २० किलोमिटरसम्मको भाडा ३२ रुपियाँ कायम गरिएको छ ।

नयाँ भाडादरमा २० किलोमिटरभन्दा लामो दूरीको भाडा ३७ रुपियाँ तोकिएको छ । नयाँ भाडादरसँगै उपत्यकालगायत बाग्मती प्रदेशभित्रका सार्वजनिक यातायातको भाडादर घटेको छ । सरकारले भाडा घटाए पनि कार्यान्वयनमा आशंका रहेको यात्रुको गुनासो छ । यसअघि न्यूनतम भाडादर १९ रुपियाँ तोकिएको भए पनि सार्वजनिक सवारीसाधनले २० रुपियाँ असुल्दै आएका थिए । प्रदेश सरकारले गत जेठ ११ गते पनि सार्वजनिक यातायातको भाडा घटाएको थियो ।

अहिले १० किलोमिटर यात्रा गर्दा २४ रुपियाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपियाँ भाडादर तोकिएको छ । तर, यात्रुले २५ रुपियाँ र ३० रुपियाँ तिर्नुपर्ने बाध्यता हुने यात्रुको गुनासो छ । सरकारले यातायात व्यवसायीलाई मात्रै सहज हुने गरी भाडा समायोजन गरेको हुँदा नयाँ भाडादरको अनुगमन हुनुपर्ने उपभोक्ताकर्मीहरूको माग छ ।

भाडाका अन्य सावारी साधानको भाडा घटाए पनि ट्याक्सीको भाडा भने घटाइएको छैन । ट्याक्सीको भाडादर यथावत राखिएको छ। सरकारले सार्वजनिक यातायातको भाडा ३ दशमलव २६ प्रतिशतसम्म घटाएको छ । बिहीबारदेखि नै मालबाहक सवारी भाडा पनि ३ दशमलव १८ प्रतिशतले भाडा घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्