कोरोनापछि ‘मामा–भान्जा’ व्यापारबाट कृषिमा 



काभ्रे । 

पनौती नगरपालिका वडा नम्बर ८ का शालिकराम बञ्जारा र उनका भान्जा वसन्त थापा कोरोना महामारी अघि व्यापार व्यवसायमा संलग्न हुनुहुन्थ्यो । कोरोना महामारीले व्यक्ति व्यक्तिसँगको भेटघाट बन्द भए पछि घर फर्किएका मामा भान्जाको निर्णय भयो पुरानै अवस्थामा व्यवसाय गर्न कठिन हुने निष्कर्ष पछि कृषि क्षेत्रमा होमियौँ ।

‘१६ वर्ष ठमेलको पर्यटन व्यवसायमा संलग्न भएँ’–वसन्त थापाले भन्नुभयो–‘कोरोनाले व्यवसाय ठप्प भए पछि गाउँमै केही गरौँ भन्ने उद्देश्यका साथ कृषि व्यवसायमा संलग्न भयौँ । मामा पनि व्यवसायमा संलग्न हुनुहुन्थ्यो । दुवै जना बेरोजगार भए पछि सल्लाह गरेर कृषिमा संलग्न भयौँ ।’

उहाँहरूले १५ लाख रुपैयाँ लगानी गरेर १० रोपनी जमिनमा ७० वटा टनेल बनाउनु भएको छ । मध्यमार्ग कृषि सहकारीले केही थान टनेल, एउटा ट्याक्टर, स्प्रे ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । शालिकराम मोबाइल पसलको व्यापारसँगै प्लास्टिक पसलको खुद्रा र होलसेलको व्यापार गर्नु हुन्थ्यो ।

यतिखेर गोलभेँडाको मूल्य आकासिएको छ । २ सय रुपैयाँ क्रेट हुँदा पनि नआत्तिएका मामा भान्जालाई अहिले लगानी उठ्ने कुराले खुसी बनाए पनि आफ्नो उत्पादनको मूल्य आफै तोक्न नपाउँदा दुख लाग्ने गरेको छ । ‘खेतबाटै सामान विक्री हुन्छ । खुसी हुनु स्वाभाविक हो तर विडम्बना आज लगेको गोलभेँडाको मूल्य पर्सि मात्रै थाहा हुन्छ’–शालिकराम बन्जाराले भन्नुभयो–‘अत्यधिक विषादीको प्रयोगका कारण उपभोक्ताको स्वास्थ्यमा पनि गम्भीर असर पुग्ने कुरालाई मध्यनजर गर्दै अर्ग्यानिक उत्पादनका लागि जोड दिए पनि कृषक एक्लैले गर्न नसक्ने निष्कर्षमा पुगेका छौँ ।’

मूल्य निर्धारण, अर्ग्यानिक खेतीका लागि प्रोत्साहन र सित भण्डार निर्माण गर्न सके बिदेसिएका युवाहरू समेत स्वदेशमै फर्किएर खेतीमा आकर्षण हुने वातावरण तयार हुने उहाँहरूले बताउनु भयो । अहिलेको व्यवसाय निर्वाहमुखी भए पनि यसलाई विस्तार गरी नेपाललाई आवश्यक पर्ने तरकारी र खाद्यान्न नेपालमै उत्पादन गर्न सकिने उहाँहरूको विश्वास छ । यो सिजनमा एक पटक गोलभेँडा टिप्दा १ लाख रुपैयाँ एक दिनमा नै हात पार्ने कृषक पनि पनौती ८ मल्पीमा रहेका छन् ।

 मध्यमार्ग कृषि सहकारीले १ सय ६० कृषकका लागि १२ सय भन्दा धेरै टनेल उपलब्ध गराएको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएका टनेल भित्र अहिले लटरम्म गोलभेँडा फलिरहेका छन् । केही कृषकले कोक्रा र अन्य तरकारी उत्पादन गरिरहेका छन् । ‘हामी पैसा भएर होइन, नभएर कृषक भयौँ’–कृषक वसन्त थापाले भन्नुभयो–‘पैसा नभएर कृषक भएकाले मेहनत धेरै गर्छौ । थोरै थोरै आम्दानी जम्मा गरेर धेरै खेती गर्न सक्षम हुन थालेका छौँ ।

तर खेती गर्ने वातावरण बनिरहेको छैन ।’ नेपालमै केही गरौँ भन्ने सोच भए पनि लगानी हुन नसक्दा धेरै युवाहरूले स्वदेशमा केही गर्ने अवसर भए पनि चुपचाप बस्न बाध्य छन् । १ रोपनी जमिनले ४ जनाको परिवारलाई पुग्ने तरकारी खेती गर्दा आम्दानी हुने भएकाले युवाहरू बिदेसिनु भन्दा स्वदेशमै बसेर खेती गर्न उहाँहरूले सुझाव दिनु भयो । ‘खेतीपातीको विकल्प छैन, देश छाडेर कहाँ जाऊँ ?’– कृषक शालिकराम बञ्जाराले भन्नुभयो । शालिकराम जस्तै सोही स्थानमा २ वर्ष अघि कृषि व्यवसायमा संलग्न रामशरण थापाका २२ वटा टनेल छन् ।

३ रोपनी जमिनमा खेती गरेका रामशरणले अघिल्लो वर्ष खेती गर्न नजानेकै कारण घाटा बेहोर्नु प¥यो । ‘तालिम छैन, जानकारी छैन, देखासिकीका आधारमा सुरु गरिएको व्यवसायमा घाटा भयो’–कृषक रामशरण थापाले भन्नुभयो–‘यो वर्ष मूल्य चर्को आउन थालेकाले अघिल्लो वर्षको घाटा र लगानी उठ्ने आशा छ ।’ रामशरण थापाको पनि चिन्ता त्यही थियो आफूले उत्पादन गरेको सामानको मूल्य आफै र विक्री हुने वितिक्कै थाहा पाउन सकिँदैन ।

केही महिना अघि मात्रै काभ्रेमा उत्पादन भएका गोलभेँडा विक्री नहुँदा खोलामा फालेका दृश्य बिर्साउँदै यतिखेर कृषकहरूले प्राप्त गरेको मूल्यबाट पुनः खेतीमा आकर्षण बढ्ने युवा कृषक पदमप्रसाद आचार्यले बताउनु भयो । ‘कहिले मूल्य आउँछ कहिले आउँदैन, धैर्य भएर खेती गर्दा कृषकका दिन पक्कै आउँछन्’–कृषक पदमप्रसाद आचार्यले भन्नुभयो–‘अहिले पनौतीमा उत्पादन भएको गोलभेँडा भारतसम्म पुग्ने गरेको छ ।’ संकलक महेश्वर बञ्जाराले भैरहवा पु¥याउन थालेको गोलभेँडा भारत जाने गरेको बताउनु भयो । एक समय बंगलादेश लैजाने तयारी भएको भए पनि प्रक्रिया सुरु गर्दा गर्दै नेपालमै मूल्य वृद्धि भएकाले निर्यात गर्न नसकिएको उहाँले बताउनु भयो ।

अहिले भारतका लागि भैरहवा, बुटवल, सुनसरी लगायतका स्थानबाट गोलभेँडाको माग हुने गरेको छ । दैनिक ४ ट्रक तरकारी सोही क्षेत्रबाट विभिन्न स्थानमा निर्यात गरिएको भुवनेश्वरी तरकारी संकलन केन्द्र पनौती ८ का सञ्चालक रामेश्वर बञ्जाराले बताउनु भयो । गोलभेँडा, काँक्रा लगायतका तरकारीहरू दैनिक संकलन हुने उक्त केन्द्रमा कृषकहरूले जति मूल्य पाउँदा पनि खाली हात नपठाइएको उहाँले बताउनु भयो ।

 

पनौती ८ कै बालकृष्ण श्रेष्ठ र उनको श्रीमती सरस्वती श्रेष्ठले २०७२ सालबाट सुरु गरेको गोलभेँडा खेतीबाट परिवार धान्न र घर निर्माणमा समेत सहयोग पु¥याए पछि डेढ रोपनीको खेतीलाई वृद्धि गरेर साढे ९ रोपनी पु¥याईएको छ । ६२ वटा टनेलमा खेती सुरु गरेका श्रेष्ठ परिवार आफैले नियमित कार्य गरेर व्यवसायलाई निरन्तरता दिइरहनु भएको छ । १० लाख रुपैयाँ लगानी गरेर १५ लाख रुपैयाँ आम्दानी गर्ने सोच बनाएका श्रेष्ठले आफन्तबाट बाहेक अन्यत्रबाट ऋण लिएका छैनन् । केही कृषकहरूले सरकारले उपलब्ध गराएको ४ प्रतिशत सहुलियत ऋण अनुदान लिएका छन् ।

खेतीका लागि सहज वातावरण, रासायनिक मल, बिउँ पुँजी र मूल्य प्राप्त हुँदा युवाहरू बिदेसिनु भन्दा स्वदेशमै खेती गर्न आकर्षण हुन सक्ने कृषकहरूको अनुभव छ । मध्यमार्ग कृषि सहकारीका अध्यक्ष प्रदीप केसीले कृषकहरूलाई सहजीकरण गर्ने उद्देश्यले बागमती सरकार, कृषि ज्ञान केन्द्र काभ्रेपलान्चोकले उपलब्ध गराएको अनुदान सबै शेयर सदस्यहरूलाई उपलब्ध गराइएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्