सहकारी लुटेर जेल, छुटेर फेरि लुटपाट

0
Shares

काभ्रे । पनौतीको सामुदायिक सहकारी चोरी गर्ने गिरोहका सदस्यहरुमध्ये एक जना इलामको सहकारी डाँकामा संलग्न भएको पुष्टी भएको छ ।
इलामकै प्रविधि काभ्रेमा प्रयोग गरेका डाँका अभियोगका अमृत थिङ्गले भत्तपुर र ललितपुरमा पनि डाँका गरेको बयान दिएका छन् । सहकारी लुटेर चार वर्ष जेल बसेर छुटेका ब्यक्ति नै पुनः लुटपाटमा संलग्न भएको पुष्टी भएको छ ।
ईलामको महिला साना किसान सहकारी संस्थामा २७ लाख ७१ हजार रुपैया २०८० बैशाख १२ गते डाँका गरि लुटेर आएका मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिकाका अमृत थिङ्ग २०८० बैशाख १९ गते काभ्रेको सामुदायिक सहकारी डाँका घटनामा संलग्न भएको प्रहरीले पुष्टी गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले अमृत थिङ्ग लगायतलाई पुर्पक्ष राख्ने आदेश गरेसँगै इलाम जिल्ला प्रहरी कार्यालयले कारागारबाट अनुसन्धानका लागि इलाम लगेको थियो ।
इलाममा बयान सकेर असार २३ गते शनिबार राति अमृत थिङ्गलाई पुनः काभ्रे कारागार पठाईएको छ । ‘इलामको डाँडावारी स्थित महिला साना किसान सहकारी संस्थाको २७ लाख ७१ हजार रुपैया मकवानपुर जिल्ला इन्द्रसरोवार गाउँपालिका घर भएका अमृत थिङ्ग सहितको चार जनाको समहुले डाँका गरेको स्विकारेका छन्’ –जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक प्रदिप सुवेदीले भन्नुभयो– ‘उनि पक्राउ परे पनि अन्यको खोजी भईरहेको छ ।
जिल्ला अदालतबाट उनिहरुलाई पक्राउ अनुमति लिएर खोजी कार्य जारी रहेको छ । इलाममा प्रयोग गरेकै विधी र प्रविधि काभ्रेको सामुदायिक सहकारीमा प्रयोग गरेको देखियो ।’
सामुदायिक साकोसमा गार्ड भएकाले उनिलाई समेत नियन्त्रणमा लिएर डाँका समुहले सहकारी फुटाएको देखिएको छ भने इलाममा गार्ड नभएका कारण सहकारीको माथील्लो तल्लामा पुगेर चेन र सटर फुटाएर भित्र सेफमा राखिएको रकम चोरेको देखिएको प्रहरी निरिक्षक सुवेदीले बताउनु भयो ।
भक्तपुरको सानो ठिमीमा पनि उनि डाँका घटनामा संलग्न रहेको पुष्टी भएको प्रहरी निरिक्षक सुवेदीले बताउनु भयो । यस अघि ललितपुरको सहकारी डाँका गरेर चार वर्ष जेल बसेर छुटेका थिए ।
इन्द्रसरोबर गाउँपालिकाको अमृत थिङ्ग र उनका नातेदार भएको टोलका केहि युवाहरु कुनै न कुनै अपराधमा संलग्न भएको अनुसन्धानले पुष्टी गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्वर ४ टौखाल स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा २०८० साल बैशाख १९ गते ३१ लाख ४९ हजार ५ सय २६ रुपैया नगद लुटिएको थियो ।
सुरक्षा गार्ड बिनय तिमल्सिनाले सुरक्षा दिईरहेको अवस्थामा अपरीचित ५ जनाको समुह अचानक २०८० बैशाख १९ गते बिहान राती अन्दाजी १ः२० बजेको समयमा सहकारीमा राखिएको रकम चोरी तथा डाँका गर्ने उद्देश्यका साथ प्रवेश गरेका थिए ।
प्रहरीले अमृत थिङलाई जेठ १ गते राती १ बजे काठमाण्डौ चन्द्रागिरी स्थित सतुंगलबाट, गम्बिर भन्ने सोमलाल थिङलाई पनि सोहि दिन राति काठमाण्डौ चन्द्रागिरी स्थित स्याङजाली चोकबाट अशोक रुम्बालाई सोही दिन बिहान ४ बजेको समयमा मकवानपुर जिल्ला ईन्द्रसरोवर गाउँपालिका ५ फाखेल स्थित निजकै घरबाट तथा अकबर भन्ने अगबर लामालाई सोही दिन बिहान ४ः३० बजेको समयमा उनकै घर इन्द्रसरोबारबाट पक्राउ गरेको थियो ।
घटनामा मकवानपुर जिल्ला साविक फाखेल गा.बि.स.वडा नम्वर ५ हाल ईन्द्रसरोवर गाउँपालिका ५ स्थित कोदोखोरिया टोल बस्ने २८ बर्षिय गम्बिर भन्ने सोमलाल थिङ, सोहि जिल्ला साविक फाखेल गविस वडा नम्वर ७ हाल ईन्द्रसरोवर ५ का मधुवन टोल बस्ने ३७ बर्षिय अगवर लामा, मकवानपुर जिल्ला साविक फाखेल गाविस वडा नम्वर ६ हाल ईन्द्रसरोवर ५ मधुवन बस्ने ३० वर्षिय अशोक रुम्बा र मकवानपुर जिल्लाकै साविक फाखेल गाविस.वडा नम्वर ५ हाल ईन्द्रसरोवर गाउँपालिका ५ कोदोखोरिया टोल बस्ने २४ वर्षीय अमृत थिङ पक्राउ परेका छन् ।
घटनामा संलग्न सोहि ठेगानाका ४४ वर्षीय कृष्ण रुम्बा भन्ने कृष्णराज लामा र ३२ वर्षीय सञ्जीव रुम्बा भन्ने सञ्जीवकुमार लामा फरार छन् । एउटै टोलका नाताले आफन्त समेत पर्ने समूहबाट उक्त घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।