बेसीशहर नगरपालिकाद्वारा करिब ८० करोड बजेट स्वीकृत

0
Shares

लमजुङ । सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले आगमी वर्षका लागि करिब ८० करोड बजेट स्वीकृत गरेको छ ।

नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का ७९ करोड ७२ लाख ६० हजारको बजेट स्विकृत गरेको हो ।

नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनले उक्त बजेटसहित योजना, नीति र कार्यक्रम स्वीकृत गरेको हो ।

नगरसभामा उपप्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरिय योजना प्रस्तुत गर्दै चालुतर्फ ४४ करोड ७९ लाख र पुँजीगततर्फ ३४ करोड ९३ लाख ६० हजार बजेट विनियोजित गर्नुभएको हो ।

उपप्रमुख गुरुङले प्रस्तुत गर्नुभएको योजनामा नगपालिकातर्फ विभिन्न शीर्षकमा २ सय ७२ वटा र वडागतरुपमा २ सय ७१ वटा योजना रहेका छन् ।

प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ ६ करोड ६१ लाख ३५ हजार, सामाजिक विकासतर्फ ३४ करोड ६७ लाख ९३ हजार, भौतिक पूर्वधार विकासतर्फ २२ करोड ४६ लाख ९० हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड १२ लाख ५२ हजार र संस्थागत विकास र सुशासनमा १४ करोड ८३ लाख ९० हजारगरी कूल ७९ करोड ७२ लाख ६० हजारको बजेट प्रस्तुत गर्नुभएकोमा नगरसभाले स्वीकृत गरेको हो ।

नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षमा भएको कार्यक्रममा नगरप्रमुख अर्यालले निर्णयका लागि प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम, योजना र बजेट, आर्थिक ऐन २०८०, कार्यपालिकाले गरेका निर्णय लगायत ४२ वटा निर्णयहरु नगरसभाले सर्वसम्वत रुपमा पारित गरेको छ ।

नगरसभामा वडा नम्बर २ का वडा अध्यक्ष एवं शिक्षा समितिका सदस्य मदनबहादुर रानाले बेसीशहरको शैक्षिक सुधार मोडलका लागि मेयर शैक्षिक सुधार कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

नीति, कार्यक्रम, योजना र बजेट पारित भएसँगै नगरप्रमुख गुमानसिंह अर्यालले सम्बोधन गर्दै आवश्यकता र प्रथामिकताका आधारमाबिना भेद्भाव, पक्षपातरहित नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत भई पारित गरिएको बताउनुभयो ।

नगरप्रमुख अर्यालले यसपटक केन्द्रबाट बजेट कटौती गरिएकोले नगरबासीको अपेक्षा अनुसार योजना निर्माण गर्न नसकिएको नगरसभामा जानकारी गराउनुभएको थियो ।

नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रममा प्रमुख प्रशासकीय इमनाथ कंडेल, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य एवं नगरपालिकाका शाखा प्रमुखलगायतको उपस्थिति रहेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।

नगरसभा यसअघि असार १० गते शुरू भई सोमबार सम्पन्न भएको हो ।