आयातको तुलनामा निर्यात निकै कमजोर

0
Shares

वीरगन्ज । देशको ७० प्रतिशतभन्दा बढी आयात निर्यात हुने भन्सार नाका वीरगन्जबाट आयातको तुलनामा निर्यात निकै कमजोर देखिएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार आयातको तुलनामा निर्यात झण्डै १५ गुणाले कमजोर देखिएको हो ।

वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलनको अवस्था पनि कमजोर नै देखिएको छ । भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तमा वीरगन्ज भन्सार नाकाबाट ६४ करोड ४३ लाख ७३ हजार ७०८ रुपियाँका विभिन्न सामग्री आयात हँुदा जम्मा ३ करोड ३९ लाख २९ हजार ३८१ रुपियाँको मात्रै निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो नाकाबाट भने ७८ करोड ४१ लख ६२ हजार १६० रुपियाँ बराबरको सामान आयात हुँदा जम्मा ८ करोड ५४ लाख ६८ रुपियाँका मात्र सामान निर्यात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

नेपालको समग्र अर्थतन्त्र आयातमुखी रहेका कारण वीरगन्ज नाकाबाट आयातभन्दा निर्यात निकै कमजोर देखिएको वीरगन्ज भन्सार कार्यालयका अधिकारीहरुको तर्क छ । त्यस्तै राजश्व संकलनको स्थिति पनि कमजोर देखिएको छ । चालू आर्थिक वर्षको जेठ महिनामा २३ करोड ७५ लाख ८६ हजार ३६२ रुपियाँ राजस्व संकलनको लक्ष्य पाएको वीरगन्ज भन्सारले लक्ष्यभन्दा कम अथवा १४ करोड २३ लाख ४ हजार १६२ रुपियाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा ४० प्रतिशत कम हो । सवारी साधनको आयात कम तथा रुस तथा युक्रेन युद्धको असरका कारण पनि भन्सारले राजश्वको लक्ष्य भेट्टाउनलाई कठिन भएको भन्सारका अधिकारीहरुको दाबी रहँदै आएको छ ।

वीरगन्ज भन्सार पछिल्लो तीन महिनायता लक्ष्य अनुसारको राजश्व संकलनमा असफल रहँदै आएकाले यो आर्थिक वर्षमा यो कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्नेमा आशंका देखिएको छ ।