मंकीपक्स संक्रमण : लक्षण, उपचार र रोकथाम



विश्वभरमा फैलिएको मंकीपक्सको संक्रमण नेपालमा पनि पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यस रोगको हालसालैको प्रकोप करिब एक वर्षअघि लन्डनमा फेला परेको थियो । त्यसयता हालसम्ममा यो रोगको संक्रमण ११० भन्दा बढी मुलुकमा देखिएको छ, जसमा ८७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ११२ को मृत्यु भइसकेको छ । यस रोगको संक्रमण दर घटाउन विश्व स्वास्थ्य संगठनले सबै देशलाई उचित उपाय अपनाउन आह्वान गरेको छ । त्यस्तै नेपालमा संक्रमण फेला परेपछि नेपाल सरकारले पनि आकस्मिक उपायहरु अपनाउन थालेको छ ।

यस रोगसँग लड्नका निमित्त नेपालभर विभिन्न अस्पतालहरुमा यस रोगको उपचारका लागि डाक्टरहरु परिचालन गरिएको छ । त्यसै गरी लक्षणहरुको बारेमा सल्लाह–सुझाव लिनका लागि सर्वसाधारणका लागि हटलाइन नम्बरहरु– १११५ र ११३३ निर्धारण गरिएको छ ।
के हो मंकीपक्स ?

मंकीपक्स अथवा एमपक्स एक भाइरल रोग हो, जुन मंकीपक्स भाइरसले गर्दा मानव जाति तथा केही अरु प्राणीमा लाग्ने गर्दछ । यस भाइरसका दुई प्रजाति छन्– क्लेड १ र क्लेड २ । यो भाइरस बिफर गराउने भाइरससँग मिल्दोजुल्दो हुन्छ । यस भाइरस सन् १९५८ मा बाँदरमा फेला परेको थियो भने मानिसमा पहिलोपटक सन् १९७० मा संक्रमण भेटिएको थियो । सन् १९८० मा बिफर उल्मूलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा बिस्तारै मंकीपक्स देखा पर्न थालेको थियो । अफ्रिकाका साना स्तनधारी जनावर जस्तै– बाँदर, मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ । सन् २००३ मा अमेरिकामा निर्यात गरिएको जंगली जनावरहरुबाट संक्रमणहरु फैलिएको थियो । त्यसयता बर्सेनि प्रजातान्त्रिक गणतन्त्र कंगोमा कैयौं संक्रमण भेटिने गरेको छ । सन् २०२२ को मईमा युरोपबाट शुरु भएको यो महामारी अमेरिका तथा अन्य विभिन्न मुलुकमा फैलिएको छ, जसको यस भाइरसको प्रजाति क्लेड २ कारक रहेको छ । त्यस्तै सुडानमा शरणार्थीहरुमा देखिएको संक्रमण भने क्लेड १ को कारण रहेको छ ।

कसरी सर्छ ?

मंकीपक्सको संक्रमणले शरीरमा घाउखटिरा आउने गर्छ । यस्ता घाउखटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ । संक्रमण फैलिने माध्यममा स्पर्स गर्ने, चुम्बन तथा यौनसम्पर्क आदि पर्छन् । त्यस्तै श्वासप्रश्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एक–अर्कामा सर्ने गरेको छ । एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि सर्न सक्ने सम्भावना रहन्छ । संक्रमित जनावरहरुको मासु खाँदा, सिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ । अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको पाइएको छ र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका पाइएको छ ।

लक्षणहरु के–के हुन् ?

मंकीपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्छन् । प्रायमा एक हप्ताभित्रमा लक्षण देखिन्छन् र २ देखि ४ हप्तासम्म रहिरहन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखा पर्न सक्छ । यस अवधिपछि भने रोग बिस्तारै निको हुँदै जान्छ । लक्षणहरुमा डाबर आउने, ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थि सुन्निने आदि हुन् । शुरुमा देखिने डाबर बिस्तारै बढ्दै गएर फोका उठ्ने, चिलाउने, दुख्ने हुन सक्छ । कसैमा थोरै तथा कसैमा सयौं खटिराहरु आउन सक्छ । खटिरा शरीरको जुनसुकै भागमा आउन सक्ने तर प्रायः हातखुट्टा, अनुहार, मुख, घाँटी तथा तिघ्राको भित्री भागमा बढी देखिन्छ ।

मंकीपक्सका प्रायः बिरामीमा शुरुमा ज्वरो आउने, मांसपेशी दुख्ने, घाँटी दुख्ने हुन्छ । पछि अनुहारबाट डाबर आउन शुरु हुन्छ । डाबर शरीरभरि फैलिन्छ र फोकामा परिणत हुन्छ । फोका फुटेर खटिरा बन्छ र निको हुँदै गर्दा खटिरा झरेर जान्छ । सबै खटिरा हराउँदासम्म संक्रमित व्यक्तिले रोग अन्यमा सार्न सक्छ । गर्भवती महिला, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा भने जटिलताहरुमा उत्पन्न हुने जोखिम बढी हुन्छ । जटिलताहरुमा अरु संक्रमणको सम्भावना, न्युमोनिया, एन्सेफलाइटिस, आँखाको ज्योति गुम्ने आदि हुन सक्छ । साथै गर्भवती महिलाको बच्चा खेर जाने हुन सक्छ ।

परीक्षण र उपचार के छन् ?

मंकीपक्सका लक्षणहरु अरु संक्रमणहरु जस्तै– ठेउला, लुतो, दादुरा आदिसँग मेल खाने भएकोले छुट्याउन गाहो हुन्छ । यसको परीक्षणको लागि घाउखटिरा, फोका तथा नाक, मुख, घाँटी आदिको स्वाब लिएर भाइरसको पी.सी.आर. प्रणालीबाट जाँच गरिन्छ । मंकीपक्सको उपचार लक्षणहरुमा केन्द्रित हुन्छ । संक्रमण हुँदैमा अस्पताल जानुपर्ने जरुरी हुँदैन । संक्रमण भएपछि सकेसम्म घरमा आफ्नो कोठामा बस्नुपर्छ ।

अरुसँग सम्पर्कमा नआउने, आफ्नो सामान, कपडा अरुलाई चलाउन नदिने, मास्क लगाउने, साबुन–पानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ । त्यस्तै प्रशस्त पानी पिउने, स्वस्थ खाना खाने र दुखाइ र ज्वरोको लागि सिटामोलजस्ता औषधि खान सकिन्छ । त्यस्तै फोका फुटाउने र कोट्याउने भने गर्नुहुँदैन । अन्य व्यक्तिहरुको नजिक हुँदा मास्क लगाउने तथा खटिराहरु छोप्नाले रोग सर्ने जोखिम कम हुन्छ । लक्षणहरु धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न जरुरी हुन्छ ।

रोकथाम कसरी गर्ने ?

पहिले बिफरको लागि उत्पादन भएको खोप (एमभीए–बीएन) अहिले मंकीपक्सको रोकथाममा प्रयोगमा आएको छ । यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित व्यक्तिलाई दिइने गरेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ्य संगठनले सल्लाह दिएको छ । त्यस्तै पहिले बिफरमा प्रयोग हुने एन्टिभाइरलजस्तै टेकोभाइरिम्याट पनि एमपक्सको उपचारमा प्रयोग गर्ने गरिएको छ । यसै गरी संक्रमण भइसकेपछि आइसोलेसन बसेर रोगको संक्रमण कम गर्न सकिन्छ ।

अहिलेसम्म नेपाली नागरिकमा संक्रमण पुष्टि भएको छैन तर पनि यो रोग लागेको छैन भनेर ढुक्क हुने अवस्था छैन । सरकारले रोगको परीक्षणका लागि केन्द्रहरु छुट्याएर उपचार गराउने आधिकारिक स्थानहरुको निक्र्यौल गर्न जरुरी छ । यस रोगले उग्र रुप लिनुअगावै सरकारले उचित उपायहरु अपनाएर यस रोगको संक्रमण रोक्न परीक्षण तथा उपचारमा ध्यान दिन जरुरी हुन्छ । त्यसै गरी विभिन्न सञ्चारमाध्यममार्फत अथवा अन्य निकायमार्फत यस रोगको बारेमा जानकारी र रोकाथामबारे जागरुकता गराउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्