गैरजिम्मेवार राजनीतिको परिणाम सामाजिक विकृति



काठमाडौं ।

नीतिमध्येको मूल नीति राजनीति हो । राजनीतिले देशलाई सही दिशामा अघि बढाउन सक्नुपर्दछ। राजनीतिले सधैँ राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई प्राथमिकतामा राख्न सक्नुपर्दछ। आधुनिक विश्वमा साम्यवादीहरूसमेत लोकतन्त्रको पैरवी गर्दै छन्। यस अर्थमा लोकतन्त्रको संस्थागत विकास हुँदा सुशासन सम्भव हुन्छ। देशको राजनीति गतिहीन, दिशाविहीन र स्वेच्छाचारी बन्दै गर्दा सामाजिक विकृतिहरू बढ्ने गर्दछन् । सबै प्रकारका विकृति र विसंगतिको स्रोत मूलतः अस्तव्यस्त राजनीति हो।

अल्प अवधिमा देशलाई समृद्धिको दिशामा अग्रसर गराउने काम पनि राजनीतिले नै गर्दछ। राजनीतिज्ञहरूमा इमानदारिता, सच्चरित्रता, जवाफदेहिता र राष्ट्रप्रतिको समर्पणभाव रहँदा देशले काँचुली फेर्न सक्छ । संस्कारविहीन राजनीतिबाट समाजमा धेरै प्रकारका विकृति र विसंगतिहरू भित्रिने र समाज नै प्रदूषित हुन पुग्दछ । विश्व परिवेशमा अध्ययन गर्दा केही नेतृत्व तहमा रहनेहरुले विश्वलाई नै सकारात्मक परिवर्तन गराउने सन्दर्भमा राम्रो योगदान पुर्‍याएका छन्। आफ्नो पछि परेको देशलाई समृद्ध बनाउन केही नेताहरुले गरेका योगदानहरू कदर गर्नलायक छन् । यी राजनीतिक नेतृत्व तहमा रहनेहरूसँग नेपालको सन्दर्भमा विश्लेशण गर्दा हाम्रा राजनीतिज्ञहरुको अवस्था कस्तो देखिन्छ ? यिनै विषयमा व्याख्या गर्ने प्रयास यस आलेखमा गरिएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रका केही उदाहरण :

केही यस्ता विराट व्यक्तित्वहरू छन्, जसले विश्वलाई नै ठूलो योगदान पु¥याएका छन् । दक्षिण अफ्रिकाका रंगभेदविरोधी नेल्सन मन्डेलाले धेरै लामो संघर्षपश्चात् उक्त क्षेत्रलाई रंगभेद मुक्त बनाउन ठूलो सफलता हासिल गरे । अफ्रिकामा रहेका १० प्रतिशत श्वेतहरुले ९० प्रतिशत अश्वेतहरुलाई गरिरहेको शोषणलाई अन्त्य गरेपश्चात् आफू राष्ट्रपति बन्दा गोराहरूका प्रतिनिधिलाई उपराष्ट्रपति बनाएका थिए। यसले गर्दा रंगभेद समाप्त अफ्रिकामा शान्ति कायम गर्न सहज वातावरण बनेको थियो। पूर्वाग्रहरहित भएर सबैलाई समेट्दा पश्चिमाहरुले समेत उनलाई त्यस समयको ठूलो नेताका रुपमा स्वीकार गरेका छन्। समानता र मेलमिलाप उनको गन्तव्य थियो र यो सफलता उनले प्राप्त गरी विश्वलाई नै सकारात्मक सन्देश प्रवाह गरेका थिए।

लामो समयदेखि ब्रिटिसहरुको भारतमा एकछत्र प्रभाव तोडेर देशलाई स्वतन्त्र बनाउन महात्मा गान्धीले अहिंसात्मकरुपमा भारत छोडो आन्दोलन गरेर सफलता प्राप्त गरेका थिए । नागरिक अवज्ञा नै उनको ठूलो हतियार थियो । सफलतापश्चात शान्तिपूर्वक इस्ट इन्डिया कम्पनीले भारत छाडेको थियो । जनताको समर्थनमा अघि बढेको उनको नेतृत्वको आन्दोलनले जनता र अहिंसामा ठूलो शक्ति हुने पाठ विश्वलाई नै पढाउन सफल भएको हो । संयुक्त अधिराज्यकी एन्जिला मर्केलले युरोपियन युनियनलाई व्यवस्थापन गर्न ठूलो योगदान गरेकी थिइन् । विश्वमै ठूलो समस्याको रुपमा देखिएको शरणार्थीसम्बन्धी चुनौतीलाई समेत सफलतापूर्वक व्यवस्थापन गरेकी हुन् ।

सिंगापुरलाई बनाउन ली क्वान युको योगदान अत्यन्त महत्वपूर्ण छ । एउटा सानो, कम विकसित देशलाई विश्वकै व्यापारिक केन्द्रका रुपमा विकसित गरेका हुन् । दीर्घकालीन सोचका आधारमा यस देशलाई प्रभावकारी शासन सञ्चालन गर्न सफल भएकाले उनलाई सिंगापुरमा अत्यन्त ठूलो सम्मानका साथ हेरिएको छ र अन्य देशहरुले पनि उनबाट पाठ सिक्नुपर्ने अवस्था बनाएका छन् । देङ सियो पिङले चीनमा आर्थिक सुधार गरेका छन् । आर्थिक वृद्धि उल्लेखनीय रुपमा भएको छ । गरिबी निवारण र देशलाई आधुनिकीकरण गर्न उनको योगदान अतुलनीय छ । यो देश विश्वमै सन् २०३० सम्म आर्थिक दृष्टिकोणले एक नम्बरमा पुग्ने लक्ष्यका साथ अघि बढिराखेको छ, आर्थिक सूचकहरु सकारात्मक देखिएकाले यो गन्तव्य चुम्न सफल हुने अवस्था देखिँदै छ । यी दीर्घकालीन सोच भएका व्यक्तिहरूबाट आधुनिक विश्व नै लाभान्वित बनेको छ । उनीहरुको साहस, आविष्कार, त्याग र इमानदारिताका कारण विश्व इतिहासमै आफ्नो नाम स्वर्ण अक्षरले अंकित गर्न सफल भएका छन् ।

नेपालको सन्दर्भ :

नेपालको अवस्था विचित्रको छ। २००७ सालदेखि हालसम्म नेपालको राजनीतिक नेतृत्व तहमा रहेका र शासन गर्ने अवसर पाएकाहरूमा देश बनाउने सोचसहितको राष्ट्रिय चिन्तन देखिएन । स्व. राजा महेन्द्र र प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बीपी कोइरालामा राष्ट्र निर्माण गर्ने चाहना देखिएको थियो । तर उनीहरू दुवैको व्यक्तिगत टकरावका कारण देशमा लोकतन्त्र समाप्त भएको थियो।

राजा महेन्द्रको व्यक्तिगत अभिष्टका कारण यो अवस्था बनेको थियो । २०४६ सालपश्चात् बनेका प्रधानमन्त्रीहरू तीनजना स्व. कृष्णप्रसाद भट्टराई, स्व. मनमोहन अधिकारी र स्व. सुशील कोइराला मात्रले आफूलाई आर्थिक मामिलामा स्वच्छ राख्न सके। बाँकी सबै प्रधानमन्त्रीहरू विवादमा तानिएका छन्। यस अवधिमा भ्रष्टाचार अत्यधिक बढिराखेको छ। पूर्व र बहालवाला प्रधानमन्त्रीहरू प्रायः सबै भ्रष्टाचारमा लिप्त बनेका छन्। यस अवस्थामा सुशासनको कल्पना गर्न सकिन्न । नेपालको दशबर्से तथाकथित जनयुद्धले पनि देशलाई अर्को ५० वर्ष पछि पारेको छ। देशमा हाल देखिएका सबै सूचकांकका आधारमा अध्ययन र विश्लेषण गर्दा सन्तोष गर्ने अवस्था छैन । देशको अवस्था अझै विकाराल बन्ने स्थिति छ । नेपालको राजनीति अपराधकर्मीहरु र अवसरवादीहरुको पकडमा छ। देशले स्थायीरुपमा सामना गर्नुपरिराखेको भूराजनीतिलाई व्यवस्थापन उचित प्रकारले गर्न हाम्रा शासकहरू असफल प्रमाणित भएका छन् ।

देश अपराधमय बनेको छ। भ्रष्टाचार वृद्धि हुनु, अपराध बढ्नु व्यक्तिको भ्रष्ट मानसिकताको उपज मात्र किमार्थ होइन। सरकारमा रहनेहरुको प्रभावकारिताको कमी हो। राजनीतिले गलत मार्ग अवलम्बन गर्नुको परिणाम हो। राजनीतिले नै व्यक्तिका चाहना र आवश्यकताको अत्यधिक वृद्धि गरिदिएको छ । देशमा अदालत छ । व्यवस्था लोकतान्त्रिक छ। कानुनहरू पनि पर्याप्त बनेका छन्। दक्ष प्रहरी संगठन छ। समाजका सचेत र योग्यता प्रणालीमा अब्बल प्रमाणित भएकाहरूबाट कर्मचारीतन्त्र सुसज्जित छ । सबै राजनीतिक दलहरुको प्रतिबद्धता सुशासन कायम गर्दै राष्ट्रिय समुन्नतिका दिशामा अघि बढ्ने देखिएको छ । तथापि समाजमा सबै प्रकारका अपराधहरू दिनानुदिन बढिराखेका छन् । ठूला अपराधहरूमा प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक नेतृत्वको संलग्नता देखिँदै छ । हाम्रा दिनचर्या र मूल्य–मान्यतामा आएको परिवर्तनका कारण हामी दिन–प्रतिदिन स्वार्थ उन्मुख बन्दै अन्धो बनिसकेको अवस्था छ । नैतिकता र इमानदारिता निर्वाह गरिराखेकाहरुको इज्जत र सम्मान समाजले गर्न जानेन । यो संस्कृतिको विकास हँुदै जाँदा हाम्रो नैतिक धरातल खस्किँदै गएको छ । हाम्रा सच्चरित्रता र इमानदारितामा समझदारी गर्दै जाने परिस्थिति निर्माण भएको छ । यस विकराल अवस्थाको आमन्त्रण हुनुमा धेरैवटा पक्षहरू जिम्मेवार छन् । नेपालको सन्दर्भमा ती पक्षहरुको विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।

देशमा धेरैवटा कानन बनेको भए तापनि ती कानुनहरुको कार्यान्वयन स्तर अत्यन्त कमजोर छ । प्रक्रियागत जटिलताका कारण सेवा प्रवाह राम्ररी हुन सकेको छैन । दण्डहीनताको पराकाष्ठाका कारण विशेष गरी राजनीतिक तहले सबै प्रकारका अपराध कर्म गर्दा पनि अभयदान पाएको छ । राजनीति आफैँ अपराध कर्ममा अभ्यस्त छ । उसले स्थायी संयन्त्रलगायतका लाई नियन्त्रणमा राख्ने हैसियत प्रायः गुमाइसकेको छ । सबै क्षेत्रहरूमा न्यायपालिकासमेतमा राजनीति व्याप्त छ । न्याय महँगो बनेको छ । प्रत्यक्ष जवाफदेहिताको अभावका कारणसमेत अस्तव्यस्त अवस्था बनिराखेको छ । लोकतन्त्रको मर्ममै प्रहार हुँदै गएको छ। न्यायपालिकामा न्यायका लागि प्रतीक्षारत व्यक्तिको जम्काभेट न्यायमूर्तिका नाममा राजनीतिक कार्यकर्ता र सच्चरित्रता कायम गर्न असफल व्यक्तिसँग हुन्छ । स्वार्थलोलुप झुन्डरुपी राजनीतिक कार्यकर्ताहरुले राजनीतिक आश्रयका आधारमा आफ्ना स्वार्थ सिद्ध गरिराखेका छन् ।

भ्रष्टाचार देशलाई समुन्नतिका दिशामा अघि बढ्न नदिने ठूलो अवरोधका रुपमा विद्यमान छ । विशेष गरी राजनीतिक तहले भ्रष्टाचारमा लिप्त बनाएका छन्, बनेका छन् । नीतिगत भ्रष्टाचार नियन्त्रक निकायलाई हेर्न नदिने कानुनी व्यवस्था र यसको गलत व्याख्याका कारण देश भ्रष्टाचारले आक्रान्त बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने विषय प्राथमिकतामा देखिँदैन।

भ्रष्टाचार गर्ने सन्दर्भमा सर्वदलीय सहमति हुने देश नेपाल हो। भ्रष्टाचारका ठूला–ठूला काण्डहरु सतहमा आउने तर त्यसमा ठूला भ्रष्टाचारीहरुमाथि कारबाही नगरिने अभ्यासका कारण देशले भ्रष्टाचारमा कीर्तिमानी कायम गरिराखेको छ। राजनीतिक नेतृत्व तहमा रहनेहरू नै राष्ट्रलाई हानि–नोक्सानी पुर्‍याउने देशका ठूला शत्रु र यिनका कार्यकर्ताहरू अपराधी बनेका छन्। राजनीतिक दलहरू माफिया र तस्करबाट परिवेष्टित छन्।

सफेद पोशाकका अपराधीका नामले यिनीहरुलाई सम्बोधन गर्नु उपयुक्त हुनेछ । अपराधीहरूबाट स्वाभिमानी नेपालीहरू लोकतन्त्रको नाममा शासित हुन बाध्य छन् । यस देशमा अदालतबाट भ्रष्टाचारी प्रमाणित भएका सांसदको निलम्बन फुकुवा भएर कानुन र नीति निर्माण गर्न निर्बाधरुपले पाउने भएका छन् । योभन्दा लज्जास्पद विषय के हुन सक्छ ?

भ्रष्ट बनेकाले धेरै राजनीतिज्ञहरूको नैतिकतामा ह्रास आएको छ । स्वार्थ बाझिने सन्दर्भमा निर्भिकताका साथ निर्णय लिने र जिम्मेवारी निर्वाह भइराखेको छ । रोजगारी माग गर्नेहरुलाई सरकार हत्या गर्दछ । आधारभूत आवश्यकताहरुको परिपूर्ति सहजताका साथ गर्न सरकार असफल छ । राजनीतिक व्यवस्थामा समयसापेक्ष परिवर्तन भयो । तर पात्रहरु आपराधिक मनोवृत्तिका देखिएकाले लोकतान्त्रिक शासन प्रणालीप्रति नै वितृष्णा फैलिएको छ । राजनीतिक नेतृत्व तहलाई सवै प्रकारका अपराध कर्म गर्नबाट छुट दिएकाले यो अवस्था बनेको हो ।
निष्कर्ष 
प्रधान नीति राजनीति हो । राज्यलाई कुन दिशामा परिचालित गर्ने सन्दर्भ राजनीतिमा निर्भर गर्दछ । त्यसैले राजनीतिकर्मीलाई सबैभन्दा पहिला कानुनको कठघरामा ल्याउन सक्नुपर्दछ । संयुक्त राज्य अमेरिकामा वैदेशिक हस्तक्षेपको अन्त्य गर्दै वास्तवमै आफ्ना नागरिकहरुलाई सार्वभौम बनाउन जर्ज वासिङ्टनले गरेका योगदानबाट विश्वले पाठ सिकेको छ। हाम्रा शासकहरू उत्तरी सिमानामा भारतीय सैनिक तैनाथ गर्दा देशको सार्वभौमसत्ताको बारेमा कुनै चिन्तन गर्न आवश्यक देख्दैनन् । कालापानी क्षेत्रमा भारतले नेपाली भूमिको अतिक्रमण गरी मानसरोवर जाने मार्ग निर्माण गर्दा हाम्रा शासकहरुलाई कुनै सूचनासम्म पनि हुँदैन । सीमा सुरक्षा गर्न असफल भएकाहरूबाट थप अपेक्षा गर्न कठिन भएको छ । देशको सार्वभौमसत्ताको संरक्षण गर्न, राष्ट्र र राष्ट्रियताका पक्षमा एसियाकै देशहरुमा समेत राजनीतिकर्मीहरूका बीच मतैक्यता हुन्छ । यस प्रकारको सकारात्मक सोचको अभाव छ। मलेसियामा महाथीरले देशलाई आधुनिकीकरण गरे।

आर्थिक सुधारका पक्षमा नतिजामा देखिने गरी काम गरे । आधारभूत संरचनाहरुको निर्माणलाई उच्च प्राथमिकतामा राखेर देशको काँचुली फेर्न सफल भए। उनलाई मलेसियाका जनताले उच्च सम्मान दिएका छन् । तर नेपालमा जनताको मन–मस्तिष्कमा राज गर्न सक्ने राजनीतिक नेतृत्वको खडेरी लामो समयदेखि परिराखेको छ । यिनै कारणहरुले गर्दा देश अघि बढ्न सकेन । आर्थिक समुन्नतिको विषय नारामा मात्र सीमित भयो । यी सबै परिवेशमा गम्भीर बनी यस देशमा जनप्रिय नेता बन्ने प्रतिस्पर्धामा नेताहरू देखिएनन् ।

यस अवस्थामा अब देशले नसोचेको एक राष्ट्रवादी नेतृत्वको उदय हुने प्रतीक्षामा देसवासीहरु रहेका छन्। आमनागरिकका बीचवाट यस प्रकारको नेतृत्वको उदय हुनेछ। यसका लागि यस देशको अवस्था वर्तमान समयको भन्दा पनि अत्यन्त नाजुक हुनुपर्दछ । यही दिशामा देश अभिमुख भएको छ। आशा गरौँ, देशले खोजेको जनप्रिय नेता यस देशले प्राप्त गर्नेछ र देशका विकृति र विसंगतिहरुको समाधान हुँदै देशमा अग्रगामी परिवर्तन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्