सहकारीको १२ अर्ब हिनामिना गर्ने पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सहकारी संस्थामा बचत गरिएको करिब १२ अर्ब रुपियाँ हिनामिना गरेको आरोपमा भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेको छ ।

मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक समेत रहेका उनलाई असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी बुधबार सिआइबीले सार्वजनिक गर्दै कानुनी कारबाही अघि बढेको जानकारी गराएको छ । उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय राखेर ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा १ लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख लाख रकम हिनामिना गरेको आरोप छ ।

यस्तै, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार १५४ निक्षेपकर्ता सदस्यले १ अर्ब ५४ करोड ७५ लाख रकम प्रचलित सहकारी ऐन र नियमावली विपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ ।

उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई हानि–नोक्सानी पु¥याएको पाइएको सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिन भित्र पेश गर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्बजनिक भईरहेको बेला महानगरले सो सुचना जारी गरेको हो । सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्