अर्थतन्त्र सुधारिएको प्रमको दाबी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रासायनिक मलको अभाव हुन नदिने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले आफूले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक रासायनिक मलको अभाव हटाएको भन्दै अब अभाव हुन नदिने दाबी गर्नुभयो ।

मल वितरणमा बेथिति रहेको भन्ने सांसदहरुले उठाएको जिज्ञासाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । साथै देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको उहाँको भनाइ छ ।

‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन्। मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन ।

यस आर्थिक वर्षमा साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ । यसबाहेक १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा वितरण नै भइसकेको छ । आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो ६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको जानकारी दिनुभयो ।

यसअवधिमा २ खर्ब पाँच अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको जानकारी दिँदै उहाँले लगानी बोर्डबाट ९५४ दशमलव ३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र सुधारिँदै गएको समेत बताउनुभयो ।

आफूले सरकारको नेतृत्वमा सम्हाल्दा देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भाष्य सृजना गरिए पनि त्यसो हुन नदिएको बताउँदै अहिले देशको अर्थतन्त्र सकारात्मकतर्फ जागेको उहाँको भनाइ छ । प्रधानमन्त्रीका अनुसार देशका सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्