मोड्रिच रियलमै रहने



लन्डन, (एजेन्सी) । क्रोएसियाका मिडफिल्डर तथा कप्तान लुका मोड्रिचले स्पेनिस क्लब रियल मेड्रिडसँग सम्झौता नविकरण गरेका छन् ।

सम्झौता नविकरण गरेसँगै लुका मोड्रिच थप एक वर्ष रियलमा नै बस्ने भएको हो । उनले सोमबार राति रियलसंग थप एक वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । यससँगै मोड्रिच सन् २०२४ को समरसम्म रियल मेड्रिडमा रहनेछ । मोड्रिच साउदी अरेबियाको क्लबसँग जोडिएपनि उनी थप एक वर्ष सान्टियागो बर्नबेउमै बस्ने निर्णय गरेका हुन् ।

३७ वर्षीय मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटेनहम हटस्परबाट रियल आएका थिए । उनले रियलका लागि ४ सय ८८ म्याच खेलेका छन् । उनले रियलबाट तीन पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । क्रोएसिया विश्वकपको फाइनलमा पुग्दा उनले २०१८ मा बालोन डी’ओर पनि जितेका थिए ।

मोड्रिच रियलमा सम्झौता नविकरण गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि टोनी क्रुस, ड्यानी सेबालोस र नाचो फर्नान्डेजले रियलमा सम्झौता नविकरण गरिसकेका छन् । मोड्रिच अझै पनि रियलको प्रमुख खेलाडी नै रहेको छ । रियलले यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट इंग्ल्याण्डका युवा मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गरिसकेको छ । अब रियलको मिडफिल्डमा थप प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्