वेस्ट इन्डिज विश्वकपमा पुग्नेमा कम संभावना



काठमाडौं । वेस्ट इन्डिज आईसीसी क्रिकेट विश्वकप एकदिवसीय प्रतियोगिताको दुई पटक विजेता टोली हो । वेस्ट इन्डिजले १९७५ र १९७९ वर्षमा लगातार उपाधि जितेको थियो । यसपछि १९८३ वर्षमा पनि वेस्ट इन्डिज टोली फाइनलमा पुगेको थियो । तर, कपिल देवको साहसिक प्रदर्शनले गर्दा वेस्ट इन्डिज पराजित भयो र उपाधिमाथि हेट्रिक गर्न चुक्यो । यो वर्ष भारतले उपाधि जितेको थियो ।

यो वर्षमा लागेको दुर्भाग्य अहिलेसम्म पनि वेस्ट इन्डिजले भोगिरहेको छ । यो विश्वकपपछि एकदिवसीय विश्वकपको फाइनलमा अहिलेसम्म पनि पुग्न सकेको छैन । तर, टी २० क्रिकेट विश्वकपमा भने वेस्ट इन्डिजले दुई पटक उपाधि जितेको छ । यो विधामा विश्व विजेता बनेपनि वेस्ट इन्डिज ५० ओभरमा फाइनलसम्म पनि पुग्न सकेको छैन ।

वेस्ट इन्डिज १९८३ मा फाइनलमा हारेयता यो विश्वकप नौ पटक आयोजना भइसकेको छ । वेस्ट इन्डिजले फाइनल सम्म पनि यात्रा गर्न सकेको छैन । अहिले २०२३ विश्वकपमा भने वेस्ट इन्डिज खेल्ने नै संदेह भएको छ । भारतमा हुने विश्वकपमा पुग्न वेस्ट इन्डिजको लागि शायद ढोका बन्द जस्तै भइसकेको भन्न पनि सकिन्छ ।

वेस्ट इन्डिजले शीर्ष ८ मा रहेर वल्र्ड क्रिकेट च्याम्पियनसिप टुंग्याउन नसक्नु नै टोलीलाई खतराको संकत भएको हो । वेस्ट इन्डिजले ८ टोली समावेश छनोट चरण खेल्यो र सुपर सिक्समा स्थान पनि बनायो । तर, वेस्ट इन्डिजले समूह चरणमा दुई खेल जितेको थियो । नेपाल र अमेरिकालाई हराएको वेस्ट इन्डिज जिम्बावे र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

सुपर सिक्समा नेपाल र अमेरिकाले यात्रा गर्न सकेनन् । वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स समूह ए बाट सुपर सिक्समा पुगेका हुन् । अर्को समूह बी बाट श्रीलंका, स्कटल्यान्ड र ओमानले सुपर सिक्समा स्थान बनाए । सुपर सिक्सको प्रावधान के रहेछ भने समूहमा खेलेको आधारमा अंक दिइने हो । यो अनुसार जिम्बावे, श्रीलंकाको ४÷४ अंक छ भने स्कटल्यान्ड र नेदरल्यान्ड्सको २–२ अंक छ । वेस्ट इन्डिज र ओमानको अंक छैन ।

प्रावधानअनुसार सुपरसिक्समा नखेलेको प्रतिद्वन्द्वीसँग खेल्नुपर्छ भने समूहमा खेलिसकेको प्रतिद्वन्द्वीसँग खेल्नु पर्ने छैन । यो हिसाबले वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन तीनै खेल जितेपनि कठिन देखिएको छ । वेस्ट इन्डिजले श्रीलंका, ओमान र स्कटल्यान्डसँग खेल्नेछ । मानौ वेस्ट इन्डिजले तीनै खेलमा जित निकालेर ६ अंक बनायो । तर, श्रीलंका र जिम्बावेले एक–एक खेल जितेमा पनि वेस्ट इन्डिज बाहिरिनेछ । यो संभावना बढी नै रहेको हुँदा शायद भारतम हुने विश्वकपमा वेस्ट इन्डिज हुने छैन । यदि भएन भने पूर्व विश्व च्याम्पियन टोली पहिलो पटक विश्वकप खेल्नबाट वंचित हुनेछ ।

वेस्ट इन्डिजको दुर्भाग्य नै नेदरल्यान्ड्ससँगको हार थियो । नेदरल्यान्ड्सविरुद्ध ३ सय ७४ रन प्रहार गरेपनि वेस्ट इन्डिजले सुपर ओभरमा पराजय बेहोर्नु परेको थियो । यो नतिजाले नै वेस्ट इन्डिजको लागि विश्वकपको ढोका बन्द लगभग गरेको छ । कुनै चमत्कार भएमा मात्रै वेस्ट इन्डिज विश्वकपमा हुनेछ नत्र भने टोली विश्वकपमा पुग्ने संभावना ज्यादै न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्