डडेल्धुरामा प्रदेश सरकारका ५ सय योजना



डडेल्धुरा । सुुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका कार्यालयमार्फ्त कार्यान्वयन गर्ने गरी डडेल्धुरा जिल्लामा आगामी आर्थिक बर्षका लागि झण्डै पाँच सय योजनाका लागि बजेट विनियोजन भएको छ ।

जिल्लामा सबैभन्दा बढी खानेपानीका योजना छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको कार्यान्वयन क्षेत्र डडेल्धुरा र बझाङ हो । कार्यालयले आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नका लागि डडेल्धुराका मात्रै १५१ योजनाका लागि बजेट पाएको छ । ती योजनाका लागि १९ करोड २६ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

डडेल्धुरा जिल्लामा रहेका सडक र पक्की पुल निर्माणका लागि ४४ वटा योजना सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा अटाएका छन् । ती योजना पूर्वाधार विकास कार्यालय डडेल्धुरामार्फत् कार्यान्वयन हुने छन । दैजी–लिप्ना–जोगबुडा–सलोन हुँदै चिरकिट्टेबाट पोखरा जोड्ने सडक खण्डअन्तर्गत तीनवटा योजनामार्फत् २० करोड बजेट विनियोजन गरिएको छ । यस्तै, भात्काँडा–बडाल–रेल सडकका लागि एक करोड, कटाल–परशुरामधाम धार्मिक सडकका लागि ५० लाख, उग्रतारा–मेलौली सडकका लागि १ करोड ५० लाख, सोही सडकमा पर्ने बसानाखोला सडक पुलका लागि १ करोड, बगरकोट हुँदै सिराड भएर रुपाल जोड्ने सडकका लागि १ करोड ४० लाख, अमरगढी–तल्लो सिलिङधारा सडकका लागि ६० लाख, सकायल–कैलपालमाण्डु सडकका लागि दुई योजनामार्फत ५५ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै डडेल्धुरा अस्पताल सडकका लागि १ करोड, सेटीगाउँ–असिग्राम मावि सडकका लागि ४० लाख, बगरकोट–बोगटा–लामिकाँडे सडकका लागि ५० लाख, साहुखर्क–उणिकोट सडकका लागि ४० लाख, घटकाट–कोटेली सडकका लागि ४० लाख, दाणिम–तलकोट सडकका लागि ४० लाख, रंगुन खोला सडक पुलका लागि ५० लाख, डबवरी खोला सडक पुलका लागि २० लाख, रुमाइल खोलामा सडक पुल निर्माणका लागि ५० लाख, घनघाट मर्मगाड सडक पुलका लागि १ करोड, जोगबुडा गोजा झोलुगें पुल निर्माणका लागि १० लाख, रामलिला जाने मैदानमा ट्रेल पुल निर्माणका लागि २० लाख तथा अन्य थप २० सडक र पुलका योजनाका लागि थप ४ करोड रुपियाँ बजेट विनियोजन भएको छ ।

यस्तै यातायात व्यवस्था कार्यालय डडेल्धुराका लागि ट्रायल सेन्टर निर्माण गर्न आठ लाख ३७ हजार र सहरी विकास तथा भवन कार्यालय डोटीमार्फत डडेल्धुराका तीन योजना कार्यान्वयन गर्न १ करोड ५० लाख बजेट विनियोजन भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेल्धुरामार्फत् ९६ योजना कार्यान्वयन गर्न २७ करोड १९ लाख, सामाजिक विकास कार्यालय डडेल्धुरामार्फत २४ योजना कार्यान्वयन गर्न चार करोड ७३ लाख, स्वास्थ्य कार्यालय डडेल्धुरा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका २७ योजनाका लागि २ करोड ८४ लाख बजेट सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालयमार्फत एक निर्वाचन क्षेत्र एक उद्योग कार्यक्रम कार्यान्वयन गर्न ३० लाख बजेट विनियोजन गरिएको छ । डिभिजन वन कार्यालय डडेल्धुरा १६ वटा योजनाका लागि १ करोड १८ लाख, भू–तथा जलाधार व्यवस्थापन कार्यालयका ४२ वटा योजनाका लागि ४ करोड १० लाख, डडेल्धुरास्थित महाभारत प्रदेश संरक्षण क्षेत्रको एकीकृत संरक्षण, पर्यापटन र विकाससम्बन्धी व्यवस्थापन योजनाका लागि २५ लाख, परशुराम क्षेत्रमा खानेपानी योजना निर्माणका लागि २० लाख, डडेल्धुरादेखि खप्तडसम्म साइकाल यात्राका लागि १० लाख, भूमीराज पार्क निर्माण व्यवस्थापनका लागि १० लाख रुपियाँ बजेट बिनियोजन गरिएको छ ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका ३९ योजनाका लागि ५ करोड २ लाख ५० हजार, भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका १३ योजनाका लागि २ करोड ९० लाख, दुई प्रहरी चौकी मर्मतका लागि १४ लाख तथा डडेल्धुरा कारागार र जिल्ला अदालत बार इकाईमा उपकरण खरिदका लागि १० लाख बजेट छुट्याइएको छ । स्थानीय तह वित्तीय हस्तान्तरणमार्फत प्रदेश सरकारले डडेल्धुराका सात स्थानीय तहलाई ४ करोड ७४ लाख अनुदान सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराउने छ ।

डडेल्धुराका दुई प्रदेश निर्वाचन क्षेत्रका लागि थप ६ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई ३ करोड विनियोजन गरिएको हो । यस्तै प्रादेशिक कार्यालय र सोझै मन्त्रालयमार्फत् पनि डडेल्धुराका केही प्रादेशिक योजना बजेटमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्