चुरेका पीडितको विजोक

0
Shares

धनगढी । डिभिजन वन कार्यालयले अस्थायी रुपमा बसोबास गरिरहेको क्षेत्रमा डोजरको प्रयोग गरेर संरचना भत्काएपछि कैलालीको चुरेका पहिरो पीडितको विचल्ली भएको छ ।

मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन धनगढी आइपुगेका उनीहरु बास नपाएर कबर्ड हलको खुुला आकाशमा रातदिन बिताउन बाध्य भएका छन् ।

चार सय १८ जना पहिरो विस्थापित परिवार लालाबालासहित कबर्ड हलमा बसिरहेका छन् । उनीहरुसँग गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितका जनप्रतिनिधिसमेत यहाँ आइपुगेका छन् ।

२०७७ सालमा पहिरोले घरबारविहीन भएका परिवारहरुलाई गाउँपालिका, स्थानीय प्रशासन, वन कार्यालय समेतको समन्वयमा चुरे गाउँपालिका वडा नम्बर ४ को पैनेरुगडा र टाँकगडामा अस्थायी रुपमा व्यवस्थापन गरेर राखिएको थियो ।

तर वन कार्यालयले डोजर लगाएर संरचना भत्काइ दिएपछि भने उनीहरु समस्यामा परेका छन् ।

अस्ति नै धनगढी पुगेका उनीहरु हिजो राति कभर्डहलमै बसे । आज पनि व्यवस्थापन नभए त्यहीँ बस्नुपर्ने उनीहरुको बाध्यता छ । तर मुख्यमन्त्री कार्यालय घेराउ नै गर्दा पनि सरकार र सरोकारवालाले चासो नै नदिएको उनीहरुको गुनासो छ ।

आफूहरु पनि यहीँ देशको नागरिक भएकाले शीघ्र व्यवस्थापन हुनुपर्ने उनीहरुको माग छ । सरकार नै नभएको अनुभूति भएको बताउँदै उनीहरुले सरकार खोज्नुपर्ने बेला आएको बताएका छन् ।