सांसद र पालिका प्रमुखको कर्मचारी मोह- सरुवा माग्दै मन्त्रालयमा लर्को

0
Shares

–नेतृत्वको दबाबका कारण सरुवा मापदण्ड निश्प्रभावी
–सरुवामा आर्थिक चलखेलको आरोप
–स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा समस्या
–राम्रो मान्छेभन्दा हाम्रो मान्छे माग्ने प्रवृत्ति

काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरु नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधूपमा लाग्ने गरेको पाइएको छ ।

विभिन्न पालिकाका प्रमुख र सांसदहरुले कर्मचारी सरुवाको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दवाव दिन थालेका छन् । जनप्रतिनिधिहरुको दबाव र कर्मचारी मोहका कारण सामान्य प्रशासन मन्त्रालयले बनाएको कर्मचारी सरुवा मापदण्ड समेत लामो समयदेखि निश्प्रभावी बन्दै आइरहेको छ ।

प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भएपनि विभिन्न पक्षको रुचि र सेटिङका कारण सरुवा विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेल समेत हुने गरेको स्रोतको दावी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुश्कर पनि जनप्रतिनिधि तथा उच्च तहको राजनीतिक नेतृत्वको दबावका कारण कर्मचारी व्यवस्थापनमा समस्या परिरहेको बताउनुहुन्छ । उहाँले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको सरुवामा सांसद तथा स्थानीय तहकै जनप्रतिनिधिको बढि दवाव आउने गरेको बताउनुभयो । ‘विभिन्न खालका दबावका कारण सरुवा मापदण्ड समेत लागु गर्न सकिएको छैन, त्यस्ता दबाव रोकिन नसक्दासम्म सरुवालाई व्यवस्थित गर्न कठिन छ ।’ सचिव पुश्करले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जिल्लाबाट दिनहुँजसो जनप्रतिनिधिहरु कर्मचारी सरुवाको माग लिएर मन्त्रालयमा आउने गरेका छन् । उनीहरुले स्थानीय तहमा आवश्यक पर्ने प्रमुख प्रशासकिय अधिकृत आफुले भने अनुसारको हुनुपर्ने भन्दै दबाब समेत दिने गरेका छन् । अर्कोतर्फ प्रायः अधिकांश सांसदहरुले पनि आफ्नो जिल्लाका पालिकाहरुमा आफ्नै रुचिका प्रमुख प्रशासकिय अधिकृत लगायतका कर्मचारी लैजान भन्दै मन्त्रालयमाम दवाब दिने गरेका छन् ।

सांसदहरुले मन्त्रालयका अधिकारीहरुलाई दिनहँु जसो फोन गरेर आफुले भने अनुुसार कर्मचारी पठाउन दबाव समेत दिने गरेको बताइन्छ । मन्त्रालयका सचिव कृष्णहरि पुश्कर भने जनप्रतिनिधि र सांसदहरुले हाम्रो मान्छेभन्दा पनि राम्रो मान्छे छनौट गरेर कर्मचारी माग गर्नुपर्नेमा त्यसो गर्न नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘उहाँहरु आएर अनावश्यक दबाव दिनुहुन्छ, ‘राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छे’लाई बढि प्राथमिकता दिनुहुन्छ, त्यसले हामीलाई समस्या पारिरहेको छ।’

कर्मचारी सरुवामा विभिन्न मन्त्रीको सचिवालय, उच्च राजनीतिक नेतृत्व सरकारका सचिवहरु तथा ट्रेड युनियनका नेताहरुको समेत विभिन्न प्रकारका रुचिहरु देखिने गरेको बताइन्छ ।

कतिपय अवस्थामा सेटिङ धन्दा चल्ने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । कर्मचारीको अन्तर मन्त्रालयस्तरको सरुवा गर्ने निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्नेहरुको भीड लाग्ने गरेको छ । अहिले पनि कैयौं स्थानीय तह प्रमुख प्रशासकिय अधिकृत विहीन अवस्थामा छ । ती स्थानीय तह निमित्तको भरमा सञ्चालन भइरहेका छन् ।

आकर्षक र कमाउ अड्डामा जानका लागि कर्मचारीहरुको दौडधूप हुने क्रम समेत निरन्तर जारी रहने गरेको छ । कर्मचारी सरुवा गराएवापत सरुवा गराउनेहरुले कर्मचारीसँग पैसा समेत लिने गरेको स्रोतको दावी छ ।

यस्तै खरिदार, सुव्वा र केहि अधिकृतको सरुवामा भने विभिन्न ट्रेड युनियनका नेताहरु हावी हँुदै आइरहेका छन् । अहिले पनि ट्रेड युनियनका नेताहरु संघीय मामिला मन्त्रालयमा कर्मचारीको सरुवाको सुची लिएर पुग्ने गरेका छन् । ट्रेड युनियनका नेताहरुले कर्मचारी सरुवा गरिदिएबापत टिप्सस्वरुप केहि रकम बुझ्ने गरेको स्रोतको दावी छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार कतिपय सरुवामा कर्मचारीहरुले नेतादेखि मन्त्रीलाई फोन समेत लगाउने गरेका छन् । कर्मचारी सरुवाको विषयलाई लिए दिनहुँजसो कुनै न कुनै मन्त्री तथा नेताको फोन आउदा मन्त्रालयका उच्च कर्मचारीहरु दिक्क बन्ने गरेका छन् । यस्तै विभिन्न जिल्लामा जानका लागि प्रमुख प्रशासकिय अधिकृतहरुले समेत नेतालाई फोन गर्न लगाउने गरेका छन् । यस्तो प्रवृत्तिले कर्मचारी सरुवा बद्नाम हुदै गइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कर्मचारी सरुवामा स्पष्ट मापदण्ड बनाउन नसकेको र बनाइएको मापदण्ड लागु गर्न नसक्दा सरुवामा विकृति बढेको बताइन्छ ।