आत्महत्या दुरूत्साहन आराेपमा दुईजना पक्राउ

0
Shares

मोरङ ।

आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् ।

विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते मृत्यु भएको थियो ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या गर्न दुरूत्साहन गरेको मुद्दाको जाहेरी परेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका- ४ बाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।