भूकम्पबाट बाजुराका १ सय ५६ भन्दा बढी घरमा क्षति

0
Shares

बाजुरा । बाजुराको ढम्कने र हिमालीमा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण जिल्लाका १ सय ५६ भन्दा बढी घरमा क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाका मन्त्री टंकप्रसाद न्यौपानेले दिनुभएको जानकारीअनुसार जगन्नाथ गाउँपालिकमा ५७ घर, हिमाली गाउँपालिका– २ का २८, बुढीनन्दा–३ मा २१, त्रिवेणी नगरपालिका–२ सिम्लामा ३९ घर र त्रिवेणी नगरपालिका–१ छताराका वटा ४ घरमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविसिंह बोहराका अनुसार हिमाली गाउँपालिका वडा नं १ विच्छ्याँका खड्क थापाको घर भत्केको छ । उहाँको परिवार अहिले छिमेकी बलेन्द्र थापाको घरमा बसेका छन् । बिच्छ्याँ मावि, बुढीनन्दा नगरपलिका वडा नं–२ कोल्टीका धु्रवराज रेग्मीको घर पूर्ण रूपमा क्षति हुँदा उहाँको परिवार आफन्तको घरमा बसेका छन् । बुढीगंगा नगरपािलका वडा नं ४ बानेगाउँका पद्मा सार्कीको दुईतले घर पूर्ण रूपमा क्षति भएको बताइएको छ ।

त्यसै गरी हिमाली वडा नं.–५ बछ्यामा मन्दिर भत्केको स्थानीय उमेश भण्डारीले जानकारी दिनुुभएको छ । बिहीबार राति गएको भूकम्पले मानवीय क्षति भने नभएको तर घर संरचना भत्केको विवरण प्राप्त भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

गत मागमा गएको भूकम्पका कारण एक जना महिलाको ज्यान गएको थियो भने दर्जनौं भेडाबाख्रा पहिरोमा परी मरेका थिए । २ सय ५० भन्दा बढी परिवारको घरमा क्षति भएको थियो । त्यतिखेर घर भत्किएपछि गौमूल र हिमाली गाउँपालिकाका केही परिवार अहिले पनि त्रिपालको सहारामा रात काट्न बाध्य छन् ।

यसैबीच भूकम्प पीडित २ सय २० परिवारलाई केही दिनअघि जनही १५ हजार रुपियाँका दरले राहत बाँडेको रेडक्रस सभापति मेखराज जैशीले बताउनुभयो । विगतमा राहत बाँडेका कारण योपटक पनि नेपाल रेडक्रस जिल्ला शाखा बाजुरामा निवेदन प्राप्त भइरहेको जानकारी दिँदै जैशीले भन्नुभयो– ‘जिल्लामा के कति क्षति भयो ? वास्तविक विवरण ल्याउन नेपाल प्रहरी र रेडक्रसकर्मीको संयुक्त टोली गाउँ पठाइनेछ । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि राहातको लागि सिफारिस तथा राहात वितरण गरिने छ । ’

यसैबीच प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले संसद्लाई बाजुरालगायत सुदूर र मध्यपश्चिममाा एक वर्षमा ५५ वटा साना ठुला भूकम्प गएको र बाजुरामा मात्र पनि यो वर्ष २५ पटक भूकम्प गएको शुक्रबार जानकारी गराउनुभयो । उहाँले भूकम्पले बाजुरा, बझाङ, अछाम, डोटी, लम्जुङ्ग, भोजपुर र खोटाङलगायतका जिल्लामा ३६ हजार घरधुरीमा क्षति भएको छ भने पाँच हजार घर पूर्ण रूपले क्षति भएको जानकारी गराउनुभयो । भूकम्पविद्हरूले ४ रेक्टर स्केल माथिका भूकम्प बारम्बार गइरहेकोले ठूलो भूकम्पको पूर्व सूचना दिइरहेको चेतावनी दिएको उहाँको भनाइ थियो ।

भूकम्पबाट सुरक्षित बस्न सरकारसँग ठोस योजना नभएको, भूकम्प पीडितलाई त्रिपाल र समान्य राहत दिने गरेको तर सरकारसँग भूकम्प प्रतिरोधक त्यस्तो ठोस योजना नभएको भन्दै सांसद पाण्डेले भन्नुभयो– ‘भूकम्प पीडितलाई अब त्रिपाल मात्र हैन बस्ने घर चाहियो ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११.२९ बजे बाजुराको बडिमालिका नगरपालिकाको ढम्कनेलाई केन्द्रबिन्दु बनाएर पहिलो कम्पन ४.९ रेक्टर स्केलको गएको थियो । त्यसपछि निरन्तर परकम्पनहरू गइरहेको जानकारी दिँदै राष्ट्रिय भूकम्प मापन केन्द्रले राति १.३० बजे ५ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का विभिन्न भागमा महसुस गरिएको छ । बाजुरा केन्द्रबिन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । बाजुरा केन्द्रबिन्दु बनाएर गत माघ १० गतेदेखि हरेक महिना निरन्तर भूकम्प गइरहेको छ । गत साउनयता २४ भन्दा बढीपटक बाजुरामा परकम्प गइरहेका छन् । बाजुरा भूकम्पको उच्च जोखिममा रहेको विज्ञेले बताउँदै आएका छन् ।