गैरआवासीय नेपालीलाई उपेक्षा किन ?



गैरआवासीय नेपालीहरु विश्वका विभिन्न मुलुकमा छरिएर रहे पनि उनीहरुले आफू जन्मिएको थलो आफ्नो मातृभूमि कदापि बिर्सन सक्दैनन् । मातृभूमिको अगाध माया भए पनि देशको परिस्थिति र बाध्यताले विदेशिएका लाखौँ नेपाली यति बेला देशमा विकास र समृद्धि भएको हेर्न चाहन्छन् र समृद्धिको लामो यात्रामा जोडिएर योगदान गर्न चाहन्छन् ।

त्यसो त गैरआवासीय नेपालीहरुले अहिले पनि नेपालको जलविद्युत्, स्वास्थ्य, शिक्षा, पूर्वाधार, वित्तीय संस्था, होटललगायत धेरै क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् । उनीहरु अन्य क्षेत्रमा पनि लगानी गर्न उत्सुक रहेका छन् ।

हाल विश्वका विभिन्न मुलुकमा बसोवास गर्ने गैरआवासीय नेपालीको संस्या ७० लाखभन्दा बढी छ । यति ठूलो संख्या नेपालको विकास र समृद्धिको यात्रामा कुनै र कुनै माध्यमबाट जोडिन चाहन्छ । त्यसका लागि एकातिर हामीले एनआरएनए संस्थालाई एकढिक्का बनाउँदै सबल नेतृत्व दिएर अगाडि बढाउनुपरेको छ भने अर्कोतर्फ गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहित लगानीका लागि उपयुक्त र भरपर्दो व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ ।

वास्तवमा गैरआवासीय नेपालीले एकातिर प्रत्यक्ष लगानी गरेर रोजगारी वृद्धि गर्ने र देशको अर्थतन्त्रलाई सबल बनाउने मात्र नभई अर्कोतर्फ लगानीसँगै उनीहरुले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई यही नेपाली माटोमा लगाएर देशलाई समुन्नत बनाउन सक्छन् तर त्यसका लागि नेपाल सरकारले गैरआवासीय नेपालीलाई दिनुपर्ने अधिकारबाट वञ्चित नगरोस् भन्ने हाम्रो भनाइ हो ।

हामीले राजनीतिक अधिकार सुनिश्चित हुने गरी वंशजको नागरिकताको निरन्तरता होस् भन्ने माग गरिरहेका छौं । यो माग पूरा गर्न सरोकारवाला सबैको ध्यानाकर्षण पनि गराउँदै आएका छौं । कतिपयले गैरआवासीय नेपालीलाई सरकारले परिचय पत्रको व्यवस्था गरेको छ किन चाहियो नागरिकता भन्ने प्रश्न गरेको पनि सुनिन्छ । हामी वास्तवमा हाम्रो देशमा सम्मानित भएर लगानी गर्न र देश विकासमा योगदान गर्न चाहन्छौं । त्यसैले हामीलाई वंशजको नागरिकताको निरन्तरता होस् भनेका हौं ।

यसै गरी कतिपयले प्रश्न गरेको सुन्छु, गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता किन भनेर ? वास्तवमा अहिले पनि धेरै मुलुकमा दोहोरो नागरिकताको प्रावधान रहेको छ र देशको विकास र समृद्धिका लागि धेरै देशले दोहोरो नागरिकताको व्यवस्था लागू गरेका छन् ।

अर्को कुरा गैरआवासीय नेपालीलाई नागरिकता दिँदैमा देशको राष्ट्रिय एकता र सार्वभौम अखण्डतामा आँच आउँछ भन्नु अहिलेको २१ औं शताब्दीमा हास्यास्पद तर्क हो जस्तो लाग्छ मलाई । नेपालको राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौम अखण्डताप्रति जति नेपालमा बस्ने दाजुभाइहरु संवेदनशील हुनुहुन्छ उहाँहरुभन्दा कम संवेदनशील हामी गैरआवासीय नेपालीहरु छैनौं । हाम्रो मातृभूमिप्रति हामी पनि उत्तिकै जिम्मेवार र गम्भीर छांै । फरक यति मात्र हो कि हामी देशमा छैनौं, विभिन्न पेसा व्यवसायका क्रममा विदेशका जुनसुकै स्थानमा रहे पनि हामी नेपाली नै हौं ।

त्यसैले हामीले वंशजको नागरिकताको निरन्तरताका लागि आवश्यक पहल गरिदिन नेपाल सरकार र जिम्मेवार राजनीतिक दललाई आग्रह गर्दे आएका छौं । अहिले नेपालको अर्थतन्त्र संकटको डिलमा पुगेको छ । यसबारे हामी जानकार छौं । अहिले नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने अमेरिकी डलरको सञ्चिती बढेर झन्डै ११ महिनाका लागि वस्तु तथा सेवा खरिदका लागि पुग्ने अवस्थामा पुगेको छ ।

यो पक्कै सकारात्मक कुरा हो । रेमिट्यान्स बढेका कारण डलर सञ्चिती बढेकोमा प्रधानमन्त्री स्वयंले प्रवासी नेपालीहरुलाई धन्यावाद दिनुभएको छ । यसप्रति हामी कृतज्ञ छौं । हामी चाहन्छौं, रेमिट्यान्स मात्र होइन देशमा लगानी वृद्धि गरेर रोजगारीका अवसर बढाउन पनि हामी सकेको प्रयत्न गरिरहेका छौं र अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

देशलाई अर्थतन्त्रको संकटबाट पार लगाउन अन्य क्षेत्रहरुमा लगानी बढाउने दिशामा हामीले अझ धेरै काम गर्न सक्छौं । नेपाल सरकारले अहिले विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्दै निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने तयारी गरिरहेको छ । हामी नेपाल सरकारको यो कदमको स्वागत गर्दछौं तर नेपाल सरकारले लाखौंको संख्यामा रहेका गैरआवासीय नेपालीहरुलाई पनि समेटेर लैजानुपर्दछ ।

यसका लागि वंशजको नागरिकताको निरन्तरता होस् भन्ने गैरआवासीय नेपालीको साझा माग हो । यसलाई बेवास्ता नगरी संविधान संशोधनमार्फत वंशजको नागरिकता प्राप्त गर्ने हाम्रो अधिकार सुनिश्चित गरिनुको विकल्प देखिँदैन ।

(लेखक क्षेत्री एनआरएनए अभियन्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्