काठमाडौंमा ४ दिने दोस्रो गृह–श्रमिक सम्मेलन सुरु

0
Shares

काठमाडौं  । 

नेपालमा २९ देशका १२७ गृह–श्रमिक नेताहरूलाई स्वागत गर्दै ४ दिने दोस्रो गृह श्रमिक सम्मेलनको उद्घाटन नेपालको कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरी गरियो ।

होम नेट इन्टरनेशनलको आयोजनामा सञ्चालित उक्त सम्मेलनले विश्व भरिका १२ लाख गृह श्रमिकहरूको प्रतिनिधित्व गर्ने नेपालका गृह श्रमिक अभियानको नेतृत्व गर्दै आउनुभएका चाँदनी जोशीले बताउनुभयो । उहाँले होम नेट इन्टरनेशनलमा आबद्ध सदस्यहरूमा ९५ प्रतिशत महिला छन् भन्नुभयो ।

होम नेट दक्षिण एसियाका क्षेत्रीय संयोजक सृष्टि जोशीले गृह श्रमिकको परिभाषा दिँदै आफ्नै घर वा घर नजिकैबाट स्थानीय, राष्ट्रिय र विश्व बजारको लागि वस्तु वा सेवा उत्पादन गर्ने कामदारलाई गृह श्रमिक (एच. बी. डब्ल्यु.) भनिन्छ भन्नुभयो ।

यही अप्रिल २५ देखि २८ सम्म काठमाडौँमा हुने चार दिने सम्मेलनको लागि आफ्ना ७५ मध्ये ७१ सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्ने १२७ गृह श्रमिक नेताहरूलाई होम–नेट ईन्टरनेशनल (एच.एन.आई.) स्वागत गरेको जोशीले बताउनुभयो।

उहाँले एच.एन.आई. ले आफ्ना प्राथमिकता क्षेत्रहरूको बारेमा छलफल गर्न, गतिशील गृह श्रमिक बजारमा आफ्ना उत्पादनहरू प्रदर्शन गर्न, नयाँ सञ्चालक समितिको निर्वाचन गर्न र एच. एन.आईले महामारीको समयमा सुरु गरेको ऐक्यबद्धता र एकतालाई थप मजबुत बनाउन पहिलो चोटि प्रत्यक्ष भेटघाट वा सम्मेलन गर्न लागेको बताउनुभयो ।

सम्मेलनमा विमेन इन इन्फर्मल इम्प्ल्योयमेन्टः ग्लोबलाईजिङ् एण्ड अर्गनाईजिङ् (विगो) र फोर्ड फाउन्डेसन जस्ता एच. एन. आई. का प्रमुख सहयोगी, भगिनी संस्थाहरू र प्रमुख साझेदारहरूको पनि सहभागिता रहेको जानकारी गराइयो ।

यो ऐतिहासिक सम्मेलन सन् १९७० को दशकदेखि बढ्दै आएको संसारभरका गृह श्रमिक आन्दोलनको उत्सव र ऐक्यबद्धताको प्रस्तुति हो । एच.एन.आई. सम्मेलनको नारा ’वि पहिचान र प्रचार प्रसार प्रदान गर्न र विश्व मञ्चहरूमा बलियो, एकताबद्ध र प्रतिनिधित्व सहितको आवाज प्रदान गरी, आफ्नो कार्य जीवनमाथि बढी शक्ति भएका सरकार र रोजगारदाताहरूसँग थप प्रभावकारी तरिकाले संवाद गर्न एच.एन.आई.को स्थापना गरिएको हो एच.एन.आईको अन्तर्राष्ट्रिय संयोजक जाह्नवी डेभले भन्नुभयो ।

होम नेट ईन्टरनेशनल सदस्यतामा आधारित संस्थाहरूको विश्वव्यापी सञ्जाल हो । सन् २०२१ फेब्रुअरीमा, २० वटा देशका ३६ गृह श्रमिक संस्थाहरू यस सञ्जालसँग आबद्ध हुने पहिलो सदस्यहरू बनेका छन् । यो सञ्जालमा ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र पूर्वी युरोप र मध्य एसियाका ३३ देशहरूबाट ७५ वटा संस्थाहरू आबद्ध छन् । यो सञ्जालमा सामूहिक रूपमा १२ लाख भन्दा बढी गृह श्रमिकहरूको प्रतिनिधित्व रहेको जनाएको छ ।

होम नेट ईन्टरनेलको सञ्चार तथा मिडिया अफिसर लरा रेभेलो भन्नुहुन्छ–विश्वका कुनै पनि कलकारखानामा ४० वर्ष अघि महिलालाई कामदार मान्न तयार थिएनन् । त्यसैले गृह श्रमिक नाम दिइयो । कारखानामा युनियन बने गृह श्रमिकलाई युनियनले कामदार मानेनन् । यसलाई मान्यता दिलाउन सघर्ष नै गरी आजको अवस्था सृजना भएको हो ।

हामी धेरै छौं, हामी एकताबद्ध छौं, हामी होम नेट ईन्टरनेशनल हौँ ले नै कार्यक्रमको मूलभूत सार प्रस्तुत गरेको थियो । सम्मेलनमा संगठन निर्माण गर्नुपरेको संघर्ष, बजारसम्मको पहुँचमा अभाव, सामाजिक सुरक्षाको अभाव र जलवायु परिवर्तनको असर लगायत गृह– श्रमिकहरूले आफ्नो दैनिक जीवनमा सामना गरेका समस्याहरूको बारेमा विभिन्न छलफलका शृङ्खलाहरू चलेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सन २०१९मा गरेको अध्ययन अनुसार संसारभरमा २६ करोड भन्दा वढी गृह–श्रमिक छन् र यसले विश्व श्रम बजारको ८ प्रतिशत कामदार समेट्दछ । २६ करोड मध्ये १४ करोड ७० लाख (५७ प्रतिशत) महिला छन् । संसारभरका झन्डै दुई–तिहाई (६५ प्रतिशत) गृह श्रमिकहरू एसिया प्रशान्त क्षेत्रमा छन् ।

अनौपचारिक अर्थतन्त्रका अन्य कामदार जस्तै अधिकांश गृह श्रमिकहरूले पनि पर्याप्त आर्थिक अवसर पाएका छैनन्, र कानुनी अधिकार, सामाजिक सुरक्षा र आफ्नो आवाजको प्रतिनिधित्व पाएका छैनन् ।