पर्वतको  कुश्मा बजारमा पानी वितरणमा ‘लोडसेडिङ’

0
Shares

पर्वत। 

दैनिक आठ घण्टा खानेपानी आपुर्ति हुँदै आएको पर्वतको कुश्माबजारमा खानेपानी बितरणमा पनि लोडसेडिङ्ग भएको छ ।
कुश्माबजारमा  बितरण हुँदै आएको खानेपानी गर्मी लागेसंगै दुई तिहाई कम बितरण हुन थालेको हो ।

सामान्य अवस्थामा बिहान चार र बेलुका चार गरेर दैनिक आठ घण्टाका दरले घरमा पानी जाने गरेकोमा अहिले दैनिक तीन घण्टाको आपूर्ति हुँदै आएको छ । संस्थामार्फत दैनिक ३० लाख लिटर पानी आपूर्ति हुँदै आएकोमा गर्मी लागेसँगै बढीमा दैनिक आठ लाख लिटर मात्रै पानी वितरण भैरहेको छ । यो भनेको  आपूर्ति कुश्मा बजारमा चाहिने पानीको मात्राको करिब ७५ प्रतिशतले कम हो। कुश्मा बजारमा दैनिक २५ देखि ३० लाख लिटरसम्म पानीको आपूर्ति हुने गरेकोमा अहिले दैनिक बढीमा आठ लाख लिटर मात्रै वितरण भइरहेको छ। बर्खाका वेला जसोतसो पुग्ने भए पनि हिउँदमा समस्या छ। बर्खामा पनि पहिरो र बाढीले पाइप फुट्दा समस्या हुने गरेको छ’, अध्यक्ष रबिकुमार श्रेष्ठ भन्नुहुन्छ ‘अर्को आयोजना नभएसम्म पूर्ति गर्न नसकिने अवस्था आएको छ। अर्को योजनाका लागि संघीय सरकारमार्फत विभागमा प्रस्तावना दिएका छौँ।’

अड्कलेर छोडिएको केही पानी मात्रै आपूर्ति हुँदा त्यो पानीले पकाउन, पिउन र शौचालयका लागि ठिकै हुन्छ। नुहाउन र कपडा धुनका लागि पानीको अभाव भएपछि बिहान, बेलुका र बिदाका दिनमा बजार आसपासमा रहेको ग्रामीण क्षेत्रका धारामा पुग्नेहरु पनि भेटिने गरेका छन्। कुश्मामा मोदी गाउँपालिकामा रहेको पातीखोलाबाट प्रतिसेकेन्ड १७ लिटरका दरले पानीको आपूर्ति भइरहेको छ। त्यहाँको योजनाको क्षमता नै त्यति रहेकाले क्षमताअनुसार नै पानी आइरहेको छ तर कुश्मामा पानीको आपूर्ति हुने गरेको प्रमुख मुहान भने कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको क्यादी खोला हो। बर्खाको समयमा तर्नै नसकिने बन्ने क्यादी खोलामा हिउँदको समयमा भने पानी भेटाउन नै मुस्किल हुने गरेको छ। यो खोलाबाट प्रतिसेकेन्ड करिब ३५ लिटर पानी आपूर्ति हुने गरेकोमा अहिले घटेर कठिनले १० लिटर पुगेको छ।

विगतमा पानीको आपूर्ति हुँदै आएको जिल्ला प्रहरी कार्यालय पर्वतको नजिकै रहेको डम्डारे खोलाबाट हुने आपूर्ति पूर्ण रुपमा बन्द रहेको छ। उक्त खोलाबाट पाइपमार्फत पानी ल्याइएको भए पनि बाढी र पहिरोले पानी बगेको सतह नै नदेखिँदा थोरै मात्रामै भए पनि आउने गरेको पानी बन्द भएको छ। हिउँद लाग्नासाथ पानीको अभाव हुने र यसले दैनिकीलाई प्रभाव पारिरहेको गुनासो बढेपछि संस्थाले जिल्ला प्रहरी कार्यालय नजिकै २०७८ चैतमा ‘बोरिङ’ गरेर पानी निकाल्न सुरु गरिएको थियो। प्रतिसेकेन्ड पाँच लिटर पानी तान्ने गरेको ‘बोरिङ’को ‘मोटर’ समेत केही केही दिनअघि समस्या आएपछि ‘बोरिङ’को पानी आपूर्ति पनि रोकिँदा कुश्मा बजारमा पानीको अभाव भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।