अव्यवहारिक निर्णय देखाउँदै काभ्रेमा चलेनन् टिपर

0
Shares

काभ्रे। 

मालवाहक सवारी साधनका नाममा टिपरहरुलाई मात्रै तौल पुलमा अनिवार्य वजन लिन लगाएर व्यवहारिक रुपमा कठिनाइ बनाएको भन्दै टिपर व्यवसायी सङ्घले शान्तिपूर्ण रुपमा अवज्ञा आन्दोलनको घोषणा गरेको छ । ‘प्रशासनले गरेको निर्णय अव्यवहारिक भएकाले निर्णय फिर्ता नहुँदासम्म टिपर सञ्चालन हुँदैनन्’–अध्यक्ष सुरेश खत्रीले भन्नुभयो । ‘कानुनले दिएको अधिकार भित्र रहेर मात्रै सामान ढुवानी गर्न प्रतिबद्ध छौँ’– बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘सरकारले ३२ इन्चको ढालाको अनुमति दिएको छ । सोही ढाला बराबर सामान ढुवानी गर्दा साढे ७ घन मिटर हुन्छ । त्यो भन्दा बाहेक सामान नबोक्न व्यवसायी र मजदुरहरुलाई निर्देशन दिएका छौँ ।’ कानुन अनुसारको वजन बोकेर आउँदा किन गर्नु पर्‍यो तौल ? अध्यक्ष खत्रीले भन्नुभयो –‘निर्देशिकामा भएको व्यवस्थालाई कार्यान्वयन गर्छौ तर जर्बजस्ति तौल पुलमा गएर वजन दिँदैनौँ । व्यवहारिक रुपमा पनि टिपरको मात्रै तौल लिनु जायज छैन ।’
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा नै सवारी साधनको विल बुकमा उल्लेख भएको साढे ७  घन मिटर भन्दा नबोक्न टिपर मजदुरहरुलाई निर्देशन दिईसकिएको छ’–बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘साढे ७ घनमिटर बोक्ने टिपरहरु तौल पुलमा तौलन जाँदैनन् । त्यस भन्दा धेरै बोकेर आउने टिपरहरु तौलनु पर्ने अवस्था भए तौलन निर्देशन दिएका छौँ ।’ टिपरको ढाला ३२ इन्च मात्रै भएकाले ढाला बराबरको सामान बोक्न पाउने कानूनी व्यवस्था उक्त बैठकले गरेकाले ढालासम्म सामान बोकेर आउने टिपरहरु तौल पुलमा नजान निर्देशन दिईसकेको खत्रीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालय, स्थानीय प्रशासन तथा समन्वय शाखाको च.न.५९६, २०७९ फागुन २१ गतेको पत्रबाट मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न गराउन लेखी आएको सम्बन्धमा जिल्लामा रहेका तीन वटा तौल पुल (पनौती, पाँचखाल र नमोबुद्ध) मा मालवाहक सवारी साधनहरु २०८० वैशाख ७ गते बिहीबार बिहान १० बजेबाट अनिवार्य रुपमा तौल पुलमा भारवहन गरी लोड सिट लिएको हुनु पर्ने निर्णय गरेको थियो । साथै तौल पुलमा मालवाहक सवारी साधन भारवहन गराउँदा ट्राफिक जाम नहुने व्यवस्था तौलपुल सञ्चालकले मिलाउने र निर्देशिका उल्लेख भए अनुसार भारवहन नियमन ट्राफिक प्रहरीले गर्ने उल्लेख गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । ब्यवसायीहरुले आईतबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायत सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर तौल पुल अव्यवहारिक भएकाले टिपरहरु तौलन नजाने बताएका छन् ।

प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले कानूनमा भएको व्यवस्था कार्यान्वयन गर्ने बताउनुभयो । गृहमन्त्रालयबाट आएको निर्देशन अनुसार यातायात व्यवस्था विभागबाट जारी निर्देशिकालाई कार्यान्वयन गरिएको उहाँले बताउनु भयो । ‘बागमती टिपर व्यवसायी संघको संस्थागत निर्णय नै कानुन अनुसार गर्ने भन्ने छ’– वरिष्ठ उपाध्यक्ष नवीन वैद्यले भन्नुभयो–‘कानुन भन्दा बाहिर गएर हामी काम गर्दैनौँ । कानुन अनुसार भएका कामलाई फेरी तौल पुलमा गएर समयको बरबादी नगर्न, एकै पटक छुट्ने सवारीको चापका कारण सडक जाम नगर्न, निश्चित समय भित्र पुग्न पर्ने गन्तव्य तथा अव्यवहारिक अवस्थालाई ध्यान दिन मजदुरहरुलाई अनुरोध गरेका छौँ ।’ बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले बैठकमा असहमति राख्दै टिपरहरु तौल पुलमा जान नसक्ने विषयमा ध्यानाकर्षण गर्दै प्रमुख जिल्ला अधिकारीलाई टिपरको बिल बुकको फोटो कपि समेत बुझाएको बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले गृह मन्त्रालयको परिपत्रको हवाला दिँदै मालवाहक सवारी साधनहरुलाई आगामी वैशाख ७ गते बिहान १० बजे देखि जिल्लाका तीन स्थानमा निजी क्षेत्रले स्थापना गरेको तौल पुलमा अनिवार्य रुपमा भारवहन गरी लोड सिट लिन निर्देशन दिएको छ । सडक जोगाउन जिल्लामा भएका तौल पुलमा मालवाहक सवारी साधनको तौल लिएर मात्रै सञ्चालन गर्न उक्त निर्णय गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।