कतार प्रहरीमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी

0
Shares

काठमाडौं

वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनासँग ६३ लाख ठगी गरेका छन् ।

६३ लाख रुपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौंको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख रुपैयाँ लाग्ने भन्दै रकम ठगेको पाइएको छ । दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख रुपैयाँ कमाइ हुने लोभ देखाएका थिए ।

पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको राठौरले जानकारी दिए ।