मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात

0
Shares

गलेश्वर।

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र बेमौसमी हिमपात भएको छ ।

मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो । यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो ।

हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताउनुभयो । मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ । वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजिवन प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङग्रालाई चरन क्षेत्रमा लैजान नसक्दा आहराको समस्या भएको जनाइएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरु हिउँले सेताम्मे भएका र चिसो बढेको धवलागिरी–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

यसपाली पुस र माघमा हिमपात भएको थिएन । हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो ।