सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड ८ लाख बिगो मागवादी लिएको अख्तियारका प्रवक्ता सह–सचिव भोला दाहालले बताए।

आरोपीहरूले बदनियत पूर्वक मिलेमतोमा अस्वाभाविक लागत अनुमान तयार गरेको र स्वीकृत सम्झौता विपरीत ट्रान्सफर्मर र जेनेरेटर स्वीकार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । आयोगले ९ जनासँग २ अर्ब ६९ करोड ४० लाखभन्दा बढी बिगो मागवादी लिएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आरोपीहरूले सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरेको भेटिएको छ ।

अख्तियारले केन्द्रका मेकानिकल सी.डी.ई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४७ लाख बिगो मागवादी लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रको प्रतिनिधिको रूपमा खटिएका पोखरेल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख बिगो मागवादी लिइएको छ । पोखरेल अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत छन् । आरोपीहरूले आवश्यकता नै नभएको बल्क फ्युल ट्यांक सिस्टम खरिद गरेर सरकारी रकम दुरुपयोग गरेको आयोगको ठहर छ । आयोगले शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता मित्रलाल पुरौलाई विपक्षी बनाएको छ ।

मनिकमान महर्जनसँग ३ करोड ४४ लाख बिगो मागवादी लिइएको छ । लेखा अधिकृत रामबहादुर बुढासँग १९ करोड ८८ लाख मागवादी लिइएको छ । लेखा अधिकृत बुढाले अहिले अवकाश पाइसकेका छन् । शाखा अधिकृत शिरीष उपाध्यायसँग ४० करोड १ लाख मागवादी लिइएको छ । आयोगले इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहित मान प्रधानसँग २३ करोड ४४ लाख मागवादी लिएको छ । भुवन महर्जनसँग ४३ करोड ५७ लाख मागवादी लिइएको छ ।

सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको आयोगका प्रवक्ता (सहसचिव) दाहालले जानकारी दिए ।