रविप्रति चित्रबहादुर केसीको टिप्पणी : खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्‍यो

0
Shares

काठमाडौँ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ पार्टीले पनि पुरानै पार्टीको प्रवृति देखाएको टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति देखाएको बताए ।

‘ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा ७ दिनको बोलपत्र गर्नु कानुनी रुपमा पनि अक्ष्यम्य छ । देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन’ प्रतिनिधिसभा बैठकमा उनले भने, ‘जुनसुकै आवरणमा प्रकट भए पनि यस्ता प्रवृत्तिलाई कानुनी संपरीक्षणमा ल्याउनु वाञ्छनीय हुन्छ। पुराना पार्टीहरुले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउथे । नयाँ आउने पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिरहेका थिए’ केसीले भने, ‘खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसैले यस्ता प्रवृत्तिलाई त्यसै छोड्नुहुँदैन ।’

पुराना पार्टीहरुले आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेको भन्दै केसीले नयाँ पार्टीबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरेकामा पूरा हुन नसकेको बताए ।