फेवा नववर्ष महोत्सव शुरू

0
Shares

कास्की । पोखराको लेकसाइडमा १८औं फेवा नववर्ष महोत्सव बुधबारबाट शुरू भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ ।

विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुती तथा पञ्चेबाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुने छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ ।

महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

कोभिड १९ लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्धेश्य महोत्सवले बोेकेको उनले सुनाए । महोत्सवमा सहभागी विभिन्न झाँकी र आमा समूहलाई सो अवसरमा उनले धन्यवाद प्रकट गरे ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल अगाडि बढाउनुपर्ने भनाइ राखे । कोरोनापछि देश अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले मार्गदर्शन प्रदान गर्नुपर्ने उनले बताए । अवको राष्ट्रिय कार्यनीति के हो भन्ने विषयमा स्पष्टता हुनुपर्ने भनाइ उनको थियो ।

सो अवसरमा होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कुटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्चालन गरिनुपर्ने माग राखे । यहींबाट विदेश उड्ने पोखरेलीको सपना अझै पनि पूरा नहुनु दुर्भाग्य भएको भन्दै उनले हतारमा पो विमानस्थल उद्घाटन गरियो कि भनी प्रश्न राखे ।

कार्यक्रममा प्रमुख अतिथिको भनाइ राख्दै महानगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय शहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताउँदै संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर त्यस्तो घोषणा गरिने बताए ।

यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधरणका लागि खोल्ने विषय जोडिएको उनले सुनाए । पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्ने विषयमा सरकारसँग गंभीर रूपमा कुरा राखिएको बताउँदै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गंभीर बन्नुपर्ने भनाइ राखे ।

नक्सा पास नभएका पोखराका घरले कि सोही अनुसार अतिरिक्त कर तिर्नुपर्ने र नत्र ती भत्काइने चेतावनी पनि उनले सो अवसरमा दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराए ।

पृथ्वीराजमार्गको स्तरोन्नती कार्यलाई शीघ्र रूपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी उनले दिए । बैंकको चर्को ब्याजले व्यवसायीलाई परेको समस्या समाधान गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा राखिएको उनले बताए ।

सो अवसरमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र क्षत्री महिला समूहकी अध्यक्ष रमा लामिछानेले पनि भनाई राखेका थिए । तालवाराही आरती सेवा समितिको तर्फबाट कार्यक्रममा आरती प्रदर्शन गरिएको थियो । गायक जीवन दाहालले पनि सो अवसरमा आफ्नो गीत सुनाएका थिए ।

कार्यक्रमको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गरेका थिए । महोत्सवको मुख्य प्रायोजक बाह्रसिंगे वियर रहेको छ भने अन्नपूर्ण केवलकार सहप्रायोजक रहेको छ । पोखरा महानगरपालिकाले सघाएको महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको हो ।