रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना विवाद सुल्झिएला त ?

282
Shares

– सामाजिक सद्भाव र सांस्कृतिक एकता भत्काउन नहुनेमा जोड
– संवादका माध्यमबाट समस्या सुल्झाउन पुरातत्व विभागको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्रा बुंगद्यो, करुणामय अर्थात् ललितपुरको रातो मच्छिन्द्रनाथ रथयात्रा हो । यही मच्छिन्द्रनाथको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गरिएपछि शुरू भएको विवाद चार महिना बितिसक्दा पनि समाधान हुन सकेको छैन ।

विवादका बीच रथयात्रासँग जोडिएको करिब १६ सय वर्ष पुरानो परम्पराले यसपटक निरन्तरता पाउने वा नपाउने भन्ने अन्योलको स्थिति देखा परेको छ । यसप्रति अहिले पुरातत्व विभाग, गुठी संस्था, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका मात्र नभई धर्म, संस्कृति जात्रापर्वप्रति सरोकार राख्ने सबैले चिन्ता र चासो प्रकट गर्न थालेको छ ।

रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाएर अहिलेसम्म सार्वजनिक स्थानमा राख्ने गरेको इतिहास छैन । कीर्तिपुर–२ स्थित प्यंगःथांमा प्रतिमूर्ति स्थापना गरिएपछि प्रतिमूर्ति राख्न हुन्छ कि हँुदैन सार्वजनिक बहसको विषय बनेको छ ।

कीर्तिपुरको सुखी गःछँे समाजको अगुवाइमा गत मंसिर १५ गते बिहीबार सो मूर्ति स्थापना गरिएको थियो । मूर्ति स्थापना गर्नुअघि ललितपुरको महाबौद्ध परिसरमा एक समारोहका बीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सो मूर्ति हस्तान्तरण गरेपछि सयौं भक्तजनको लावालस्करसहित मूर्ति कीर्तिपुरतर्फ लगिएको थियो । महानगरपालिकाको करिब १७ लाख रुपियाँको सहयोगमा सो मूर्ति प्रसिद्ध मूर्तिकार एवं सम्पदा अभियन्ता रवि शाक्यले बनाउनुभएको थियो । त्यसपछि रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति बनाइएको भन्दै हयग्रीव भैरवनाथ तथा ३२ पानेजु संघ, बुंगमतीले मंसिर १९ गते विज्ञप्ति प्रकाशित गरी विरोध जनाएपछि विवाद शुरू भएको थियो ।

मच्छिन्द्रनाथका पुजारीहरूको तर्फबाट पानेजु संघले सो स्थानबाट प्रतिमूर्ति नहटाएसम्म त्यहाँ गएर पानेजुहरूले फूल चढाउने परम्परालाई निरन्तरता नदिने अडान राखेको थियो । त्यसले गर्दा कीर्तिपुरस्थित प्यंगःथांमा रातो मच्छिन्द्रनाथसँग जोडिएको अमूर्त संस्कृति र परम्पराले यस वर्ष निरन्तरता पाउने कि नपाउने भन्नेमा अन्योल देखापरेको छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथलाई थतिटोलबाट तानेर जावलाखेल पु¥याउने चार दिनअघि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु) प्रसाद लिएर प्यंगःथांमा पुगेर शक्ति स्वरूपा कन्या (याकः मिसा) लाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ ।

कीर्तिपुरको सो स्थानमा मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना भएपछि शक्ति स्वरूपा कन्याकुमारीलाई प्रसाद ग्रहण गराउने परम्पराको औचित्यमाथि प्रश्न उठेको संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताउनुभयोे । पानेजु संघले यस्तो अडान राखेपछि पानेजु संघ र सुखी गःछें समाजबीच विवाद शुरू भएको थियो । मूर्ति हटाउन पानेजुहरू निरन्तर विभाग, संस्थान, नगरपालिका धाउँदै आएका छन् ।

‘करुणामय, बुंगद्य अर्थात् रातो मच्छिन्द्रनाथको पूजाआजा तन्त्रसाधनासँग जोडिएको छ । यसको नित्य पूजाआजाका लागि विशेष किसिमको नियम वा शुद्धाशुद्धिको पालना गर्नुपर्ने हुन्छ त्यो स्वयं जीवन्त परम्परा हो । कीर्तिपुरमा प्रतिमूर्ति स्थापना गरिएपछि त्यस किसिमको विशेष पूजाआजाको परम्परा अनिवार्य सुनिश्चितता गर्दैन । यस कारण प्रतिमूर्ति राख्नु स्थापना गर्नुुहँुदैन’ –संघका अध्यक्ष शाक्यले भन्नुभयो । मच्छिन्द्रनाथको मूर्ति तन्त्रसाधनासँग जोडिएकाले अन्य मूर्तिभन्दा फरक हुने अध्यक्ष शाक्यको भनाइ रहेको छ ।

‘सयौं वर्षदेखि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु) शक्ति स्वरूपा कन्यालाई प्रसाद ग्रहण गराउने स्थानमै प्रतिमूर्ति राखिएको छ । मच्छिन्द्रनाथले कन्याकुमारीलाई प्रसाद दिएको प्रतिमूर्ति राखिएपछि त्यही ठाउँमा मच्छिन्द्रनाथलाई पछाडि राखेर पुजारीले कन्यालाई प्रसाद दिनुपर्ने आवश्यकता रहँदैन’ –अध्यक्ष शाक्यले भन्नुभयो ।

युगौंयुगदेखिको ऐतिहासिक र सांस्कृतिक परम्परा तोडमोड गरी शक्ति स्वरूपा कन्या (याकः मिसा) लाई श्री करुणामय रातो मच्छिन्द्रनाथको प्रेमिकाको संज्ञा दिई गलत तथा भ्रमपूर्ण प्रचारप्रसार गर्दै आएको संघले आपत्ति जनाउँदै आएको छ ।

उता मूर्ति स्थापना पहल गर्ने कीर्तिपुरको सुखी गःछेँ समाजका सचिव नारायण महर्जनले रातो मच्छिन्द्रनाथ र कीर्तिपुरसँग जोडिएको परम्परालाई प्रवद्र्धन गर्न प्रतिमूर्ति स्थापना गरिएको बताउनुभयोे । ‘हामीले संस्कृति, परम्परामाथि धावा बोल्न नभई, त्यसको जगेर्ना गर्न प्रतिमूर्ति स्थापना गरेका हौं । यसमा परम्परामा प्रतिकूल असर पार्ने कुनै किसिमको खोटो नियत छैन । श्रद्धा, आस्था र भक्तिले काम गरेका हौं’ –सचिव महर्जनले भन्नुभयो ।

समाजले पानेजु संघको परम्परा, मर्यादामा आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै सचिव महर्जनले भन्नुभयो– ‘सयौं भक्तजनहरू साक्षी राखेर ललितपुरबाट लगिएको मच्छिन्द्रनाथको हटाएर कहाँ राख्ने ? अरू विकल्प के, के हुन सक्दछ भनेर पानेजुहरूसँग छलफल गर्न तयार छौं । खुला मनले संवादको वातावरण हुनुप¥यो ।’

प्रतिमूर्ति बनाउन रातो मच्छिन्द्रनाथसँग जोडिएको प्रथाजनित संस्था पानेजु मात्र नभई गुठी संस्थानसँग पनि स्वीकृति नलिइएको भन्दै संस्थान ललितपुरका अध्यक्ष लछुनाशर्मा काफ्लले भन्नुभयो– ‘मच्छिन्द्रनाथको पूजाआजा गर्न विशेष योग्यता चाहिन्छ । जहाँत्यहीँ प्रतिमूर्ति स्थापना गर्नु हुँदैन । त्यहाँबाट हटाएर संस्थानलाई जिम्मा दिएमा सुरक्षित तवरले राख्नेछौं ।’

विवाद बढ्दै गएपछि गत कार्तिक २ गते प्रतिमूर्ति स्थापना गर्न सहमति प्रदान गरेको पुरातत्व विभागले प्रतिमूर्ति सोही स्थानबाट हटाउन गत पुस २५ गते पत्राचार गरेको थियो । विभागकोे पत्रमा प्रतिमूर्ति स्थापना गर्ने कार्यले प्राचीनकालदेखि चलिआएको परम्परा आँच आउनुका साथै सामाजिक सद्भाव र सांस्कृतिक तथा धार्मिक एकतालाई समेत असर पर्ने देखिएकाले हटाउन भनेको थियो । तैपनि मूर्ति नहटाइएकाले विभागले गत शुक्रबार पुनः मूर्ति हटाउन पत्राचार गरेको थियो ।

शुरूमा काठमाडौं महानगरपालिकाले विभागको सहमति माग गरेकोमा प्यंगःथांमा रहेको मन्दिरको मौलिक स्वरूप र गर्भगृहमा परम्परादेखि पूजा गर्दै आएको शिलालाई कुनै असर नपर्ने गरी प्रतिस्थापन गर्न सहमति प्रदान गरिएको थियो । प्रतिमूर्ति स्थापनाले धार्मिक, सांस्कृतिक सद्भावमा खलल नहोस् भन्ने मुख्य ध्येय रहेको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

कीर्तिपुरका स्थानीय र पानेजुबीच सहमति भई मूर्ति हटाउने उपायतिर जाँदा सबैभन्दा उत्तम हुने पनि महानिर्देशक गौतमकोे सुझाव रहेको छ । ‘धार्मिक, सांस्कृतिक विषय भनेको एउटा संवेदनशील विषय होे । यस कार्यले कहीँकतै आपसी सद्भाव र सम्बन्धमा खलल पु¥याउने अवस्था आउन दिनुहुुन्न । यसतर्फ सचेत हुनुपर्दछ’ –महानिर्देशक गौतमले भन्नुभयो ।

यसैबीच पानेजुहरूको निरन्तर ताकेतापछि प्रतिमूर्ति हटाउने विभागको निर्णय पालना गर्ने र गराउनेमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले गत मंगलबार भएको सरोकारवालाको बैठकमा हस्ताक्षर गर्नुभएको थियो । बैठकमा उपस्थित सुखी गःछें समाजका प्रतिनिधिहरूले पेलेरै निर्णय गर्न खोजिएको भन्दै बैठकको अन्त्यतिर बाहिरिएका थिए । विवादले गर्दा प्रतिस्थापन गरिएको मूर्ति हालसम्म धार्मिक विधिपूर्वक प्राणप्रतिष्ठा (न्यास) गर्ने कार्य थाती राखिएको छ ।

यसैबीच विवादलाई नजिकबाट नियालिरहेकाहरूले मच्छिन्द्रनाथको प्रतिमूर्तिलाई त्यहाँबाट हटाई त्यसको कला र बनाउने प्रविधिलाई कदर गर्दै कीर्तिपुरको प्यंगःथांबाहेक कीर्तिपुरको कुनै अन्य स्थान वा संग्रहालय वा गुठी संस्थानको जिम्मामा सुरक्षित तवरले राख्न सकिने सुझाव दिएका छन् ।

प्यंगःथाको फूलप्रसाद दिने जीवन्त संस्कृतिलाई पौभा चित्र, भित्ते चित्र वा अन्य कलात्मक माध्यमबाट अभिव्यक्ति गरी पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धनका लागि दुईवटै नगरपालिका लाग्नुपर्ने उनीहरूको सुझाव रहेको छ । सो परम्परासँग सम्बन्धित विभिन्न जनश्रुति, प्रचलित किंवदन्तीको संग्रह गरी पर्यटकलाई लक्षित गरी कीर्तिपुर नगरपालिकाले पुस्तक प्रकाशन गर्नेलगायत उपाय अपनाउन सकिने उनीहरूको सुझाव रहेको छ ।