काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सय दिन मन्त्रिपरिषद् विस्तारमै सकियो । गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सय दिनमा सातपटक मन्त्रीमण्डल विस्तार गर्नुभयो ।
यस बिचमा उहाँले ३१ जनालाई मन्त्री बनाउनुभयो भने दुईपटक गठबन्धन फेरेर विश्वासको मतसमेत दुईपटक लिनुभयो । पुस १० मा पाँच दलीय चुनावी गठबन्धन भत्काउँदै नेकपा(एमाले)सँगको सहकार्यमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन ११ मा एमालेसहितको सात दलीय गठबन्धन तोडेर पुनः नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धन बनाउनुभयो ।
गत चैत १७ मा सातौंपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएका दाहाल नेतृत्वको सरकारमा अझै पनि ६ मन्त्रालय खाली छन् । जनताका दैनिक काम कारबाहीभन्दा पनि सरकार गठन र विघटनमै सरकारको सय दिन बितेकोमा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रचण्डले सरकारको सय दिन अस्थिरता र मन्त्री हेरफेरमै गुजारेको आरोप लगाएको छ । एमाले नेता विशाल भट्टराईले राजनीतिक अस्थिरताको मुख्य जड नै प्रचण्ड भएको टिप्पणी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो सरकार बनेपछि स्थिरता र जनजीविकाका सवालका केही नयाँ ढंगले काम गर्न सकिन्छ भनेर एमालेले साथ दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको थियो । तर, सत्ता सहयात्री दलहरूलाई सरकारबाट निकाल्ने र देशी विदेशी शक्तिको इशारामा दलहरू जोरजाम गरेर मन्त्रिपरिषद् बनाउने खेलमै उहाँले सय दिन बिताउनुभयो ।’ उहाँले सरकारका सय दिनलाई शून्य समयको रूपमा लिन सकिने टिप्पणी गर्नुभयो ।
सरकारले भने सय दिनलाई उपलब्धिमूलक बताएको छ । यो बिचमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचन गराउनुपर्ने भएकाले बढी ध्यान त्यसमै केन्द्रित भएको र राजनीतिक दलहरूबीच गठबन्धन फेरबदल भइरहेका कारण पनि प्रधानमन्त्रीले सोचेअनुसार काम गर्न कठिन भएको नेकपा माओवादीका एक नेताको दाबी छ । सरकारले संक्रमणकालीन अवस्थामा गुज्रिएको नेपाली राजनीतिलाई तीन महिनाको समयमा लिकमा ल्याएको दाबी गरे ।
सत्ता सहयात्रामा भर्खर जोडिएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका सय दिन दैनिक कार्य सम्पादनमै बितेको भए पनि निर्वाचनमा जनतालाई गरेका प्रतिवद्धता पूरा गर्ने समय अब शुरू भएको बताउनुयो । ‘संविधानको रक्षा र स्थिरताका गठबन्धन’ भनेर जनतामाझ गएका दलहरूले बिचमा बाटो बिराए पनि सय दिनमा पुनः लिकमा फर्किएको दाबी गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारका सय दिन दैनिक कार्य सम्पादनमै बिते पनि संविधान, स्थिरता र पाँच वर्ष गठबन्धनलाई सँगै लैजाने भनेर जनतामाझ मत माग्न जाँदा गरेका बाचा पूरा गर्न भर्खर मात्रै सही बाटोमा राजनीति आइपुगेको छ । यसलाई महत्वपूर्ण उपलब्धि ठानेर सरकारमा सहभागी सबै दलहरूले जनजीविकाका सवालमा खरो उत्रन सक्नुपर्छ । खास गरी जनताका सवालमा सरकारको काम अब शुरू भएको छ ।’ सरकारमा कांग्रेससहित संलग्न भएर काम थालेको दुई दिन मात्रै भएको जिकिर गर्दै उहाँले यो पाँच वर्ष सरकारले जनताको जीवनस्तरमा खास परिवर्तन हुनेगरी काम गर्ने बताउनुभयो । दलहरू सत्ता प्रप्तिका लागि मात्रै मरिमेट्छन् भन्ने नागरिकको आरोपलाई चिर्नका लागि सरकारमा सहभागी मन्त्रीहरूले स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, विकासलगायत जनतासँग प्रत्यक्ष जोडिने कामहरूमा बढी ध्यान दिनुपर्ने महरको सुझाव छ ।
दुई महामन्त्री मैदानमा

नेपाली कांग्रेसले आगामी वैशाख १०मा हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीलाई चुनावी कमान्डर बनाएर खटाएको छ । तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाउनुभएको छ ।
उहाँहरू सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी भएपछि मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै पार्टीको तर्फबाट उम्मेदवार बनेका नेतालाई चुनाव जिताउन हरसम्भव खट्ने तयारीमा हुनुहुन्छ । कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा–२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
तनहुँ १ मा निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको थियो भने चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेको संसद् पद खारेज भएपछि उक्त क्षेत्र सांसदविहीन बनेको थियो । त्यस्तै, बारा २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्र पनि सांसदविहीन बनेको हो ।











प्रतिक्रिया