कोशी प्रदेश सरकार परिवर्तन गर्न काठमाडौँमा दौडधुप 



काठमाडौँ । 

कोशी प्रदेश सरकार परिवर्तन गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षलाई बागबजारको एक होटलमा आइतबार साँझ भेट गरेका छन् ।

प्रदेश सरकार परिवर्तन गर्न दल बल सहित काठमाडौँ आएका नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङवो र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच झन्डै एक घण्टा सो होटलमा कुराकानी भएको थियो ।

प्रदेश सरकार गठन भएदेखि नै असन्तुष्ट रहँदै आएका आङवोले हालका मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल गर्न राप्रपाका अध्यक्ष लिङदेनलाई उक्त होटलमा बोलाएर छलफल समेत गरेका थिए ।

जनता समाजवादी पार्टीका नेता तथा मन्त्री अशोक राइले कोशी प्रदेश सरकार परिवर्तन नहुने बताएकै दिन माओवादी संसदीय दलका नेता आङवोले राप्रपाका अध्यक्ष लिङदेनलाई हालका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र उक्त प्रस्तावमा समर्थन गर्न आग्रह गरेका थिए ।

त्यसको जवाफमा लिङदेनले यस विषयमा पार्टीले निर्णय लिने भन्दै आङवोलाई आश्वासन दिएका थिए । झन्डै एक घन्टाको वार्तापछि लिङदेन सो होटलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्