पूर्वनासु घिमिरेविरुद्ध सवा २ करोडको भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौँ ।

पूर्वनायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा पूर्वनासु घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।उनी २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । भन्सार विभागमा कार्यरत रहेकै अवस्थामा २०७५ फागुन १ मा उनले राजीनामा दिएका थिए ।

सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई नै अख्तियारले गैरकानुनी सम्पत्तिका रुपमा किटान गरेर २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो‚ त्यति नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेबमोजिम आरोपितविरुद्ध बिगो जरिवाना र गैरकानुनी सम्पत्ति जफत हुनेगरी मुद्दा दायर गरिएको बताए । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाइएको छ ।